• १५ वैशाख २०८१, शनिबार

रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र

blog

ललितपुरको बुंगमतीस्थित निर्माणाधीन रातो मछिन्द्रनाथ मन्दिर । तस्विर : मनोजरत्न शाही

काठमाडौं, चैत १२ गते । ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।

२०७७ असार १५ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको निर्णय अनुसार उपभोक्ता समितिबाट पुनर्निर्माण कार्य सम्झौता भयो । यसअघि विभिन्न ठेकेदारले पुनर्निर्माणको जिम्मा लिए पनि बिचैमा छोडेका थिए ।

श्रीलङ्काली सरकारको आर्थिक सहयोगमा तीन करोड आठ लाख आठ हजार ९६१ रुपियाँ लागतमा २०७८ असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

ललितपुर महानगरपालिका-२२ का वडाध्यक्ष सागर तुलाधरका अनुसार यसअघिको समयावधिमा पुनर्निर्माण कार्यको जिम्मा ठेकेदारले लिए पनि के कति रकम खर्च भयो भन्ने आधिकारिक जानकारी छैन ।

प्राथमिकतामा परेको मन्दिरको पुनर्निर्माणको काम हालसम्म पनि सम्पन्न नहुँदा नियमितरुपमा हुने स्थानीय जात्रा, पर्वमा असर पर्ने गरेको छ ।

नियमित पूजाआजाका लागि हाल निर्माण भइरहेको मन्दिर छेवैमा अस्थायी मन्दिर बनाइएको छ । पुरोहितहरुले सोही अस्थायी मन्दिरमा मछिन्द्रनाथसँग सम्बन्धित काम विधिविधान अनुरुप गर्दै आएका छन् । उहाँले मेला सञ्चालन गर्ने ठाउँमा अस्थायी मन्दिर खडा गरिएकोले यो पटक देवगणहरु नचाउन तथा मेला सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरको दक्षिणतिर अस्थायी मन्दिर बनेको अवस्था छ । त्यही ठाउँमा मेला सञ्चालन गर्नुपर्ने भएकोले यो वर्ष हामीले सञ्चालन गर्न सकेनौं । मन्दिर नबनेको अवस्थामा यस्ता कुरा छुटेको छ ।”

ऐतिहासिक एवम् धार्मिक महत्वको रातो मछिन्द्रनाथ छ महिना ललितपुरको तःबहाल र छ महिना बुंगमतीमा रहँदै आएको छ । हरेक वर्ष ललितपुरको पाटनबाट र १२ वर्षमा एक चोटी बुंगमतीबाट भोटो देखाउने जात्रा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

तुलाधरका अनुसार रातो मछिन्द्रनाथ बुंगमतीमा ल्याउने बेलासम्म मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

उहाँले भन्नुभयो, “रातो मछिन्द्रनाथ एक महिना अगाडि पाटन लगिएको थियो । अब पाँच महिनापछि यता बुंगमती ल्याइन्छ । यो मन्दिर तयार गरेर मछिन्द्रनाथलाई नयाँ मन्दिरमा राख्ने तयारी गरिरहेका छौं । तर पुरातत्व विभाग र उपभोक्ता समितिबिच कुरा मिलिरिहेको छैन ।”

उहाँका अनुसार मन्दिर पुनर्निर्माण उपभोक्ता समितिको २०८० असार मसान्त यता म्याद थपिएको छैन । पुरातत्वलगायत सम्बन्धित पक्षले देखाएको ढिलासुस्तीका कारण मन्दिर पुनर्निर्माणको काममा नै अवरोध पुग्ने गरेको छ ।

उहाँले भन्नुभयो, “उपभोक्ता र पुरातत्वबिच सम्झौता भएर जुन काम भइरहेको छ, पछिल्लो समय म्याद थप नभएपछि करिब–करिब मन्दिर नबना भनेकै हो कि ।  उनीहरुले हिसाबकिताब चाँडै गर्दिनुपर्ने हो । प्राविधिक तथा इन्जिनियरिङ कुराहरु जुन हिसाबले क्लियर गर्नुपर्ने हो । त्यो नगर्दा समस्या आएको हो ।”

उहाँले आगामी दिनमा सम्पदा पुनर्निर्माणको कार्यमा पुरातत्वसँग हात नफैलाउने भनाइसमेत राख्नुभयो । उहाँले भन्नुभयो, “यो कुरा पालिकामा पनि उठाएका छौं । हामी अब पुरातत्वमार्फत मन्दिरको थप काम र स्रोतका लागि हात नफैलाउने भनेर कुरा उठेको छ ।” 

सम्पदा पुनर्निर्माणका लागि स्थानीय तहमा जनशक्ति नहुनु एकातर्फ भएपनि सम्बन्धित निकायको ढिलासुस्ती खेदजनक रहेको उहाँको भनाइ छ ।उहाँका अनुसार मन्दिर पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर बाँकी रहेको थोरै काम सम्पन्न गर्न भने अन्याेल देखिएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।