• २० वैशाख २०८१, बिहिबार

समाजका कुरीति हटाउन सकिरहेका छैनौँ

blog

गोरखबहादुर चन्द अध्यक्ष, पञ्चेश्वर गाउँपालिका

बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिका जिल्ला सदरमुकाम गोठालापानीबाट १३ कोस दुरीमा रहेको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्दछ । यद्यपि गाउँपालिकामा विद्युतीकरण भने हुन सकेको छैन । पछिल्लो समय सङ्घ र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडकखण्ड कालोपत्रे गरेसँगै सडक स्तरोन्नतिले तराई–पहाड जोड्न सार्वजनिक बस सञ्चालनमा छन् । भारतसँग जोडिएको यस गाउँपालिका भएर बग्ने महाकाली नदीमा झोलुङ्गे पुल निर्माण हुन सके आवागमन अझै सहज हुने देखिन्छ । यहाँ उखु खेती, तेलहन बाली, माहुरीपालनको उपयुक्त सम्भावना छ । यसका अतिरिक्त आलुलगायत तरकारी खेती, फलफूल खेती हुन्छ । स्थानीय तहको दोस्रो कार्यकालका लागि दोहोरिनुभएका यस गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग गोरखापत्रका बैतडी समाचारदाता गोकर्ण दयालले गरेको कुराकानी :

 

दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । जनतासित गरेका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?

पञ्चेश्वरका नागरिकले मलाई दोस्रो कार्यकालका लागि पुनः लोकप्रिय मत दिएर काम गर्ने जिम्मेवारी दिएका छन् । पहिलो कार्यकालमा सबै वडामा सडक पु¥याउन सफल भयौँ । वडा र गाउँपालिकाको भवन निर्माण ग¥यौँ । शून्य संरचनाबाट सुरु भएको गाउँपालिकाका अहिले आफ्नै सुविधासम्पन्न भवन छ । अधिकांश स्वास्थ्यचौकीका भवन निर्माण गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेका छौँ । 


जनताको जीवनस्तरमा परिवर्तन ल्याउन के के काम गर्नुभयो ?

यो गाउँपालिका यातायातबाट वञ्चित थियो । अहिले गाउँपालिकाका छ वटै वडामा यातायात सेवा पुगेको छ । बत्तीको व्यवस्था नहुँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य थिए । अँध्यारो अटाउन उज्यालो पञ्चेश्वर कार्यक्रम सञ्चालन गरी सबै वडामा बिजुली पु¥याउने काम अघि बढेको छ । 


शिक्षा, स्वास्थ्य र कृषिमा के कति काम गर्नुभयो ?

शिक्षातर्फ सबै विद्यालयमा इन्टरनेटको सुविधा पु¥याएका छौँ । नौ वटा विद्यालयमा ई लर्निङ शिक्षाको व्यवस्था गरिएको छ  । गरिब र जेहेनदार विद्यार्थीलाई प्राविधिक र उच्च शिक्षा पढ्न एक लाख रुपियाँ छात्रवृत्ति दिएको छ । स्वास्थ्यतर्फ यो वर्ष १० शøयाको गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्न १३ करोड रुपियाँ लागतको ठेक्का आह्वान गरेका छौँ ।

‘कृषिमा आत्मनिर्भर पञ्चेश्वर’ बनाउने उद्देश्यले गाउँपालिकाले एक करोड रुपियाँ रकम विनियोजन गरेर कृषि पाठशाला स्थापना गरेको छ । त्यसमा खासै सफल हुन सकिएन । मेहनत गरेर खानेभन्दा पनि अनुदानका लागि मात्रै कृषकहरू केही समय जुर्मुराएर रोजगारी खोज्न फेरि भारततिर लाग्ने गरेका छन् । आममानिसले गाउँपालिकाबाट सिधै मासिक तलबी रोजगारको अपेक्षा गर्दा कृषिमा गरेको लगानी अनुसारको प्रतिफल पाउन सकिएन । 


विकास निर्माण गर्दा मजदुरलाई गाउँमै काममा लगाउन सक्नुभएन नि ?

सडक निर्माण गर्दा स्थानीय मजदुरलाई नै काममा लगाइएको छ । मेसिनको प्रयोग घटाएर अधिकतम मजदुरलाई रोजगारी दिने कुरामा गाउँपालिका सचेत छ । यति हुँदाहुँदै पनि रोजगारीका लागि केही समस्या छन् । सबैलाई मासिक तलब दिने रोजगारी त दिन सक्दैनौँ । रोजगारीको समस्या समाधान गर्न गाउँपालिकाले कृषि उत्पादनमा जोड दिएको छ । गाउँमै उद्यम गर्न चाहनेलाई अनुदान दिएर आत्मनिर्भर बनाउने प्रयास गरिरहेका छौँ । यद्यपि गाउँको जमिन बाँझो राखेर युवा विदेश पलयान हुने दर रोक्न सकेका छैनौँ । 

भौतिक तथा सामाजिक विकासका लागि के कसरी काम गरिरहनुभएको छ ?

निकै महìवपूर्ण प्रश्न गर्नुभयो । सडक, पुलपुलेसा र खानेपानीका योजना बन्नु मात्रै विकास होइन रहेछ । महत्वपूर्ण कुरा सामाजिक विकास पनि हो भन्ने ठानेका छौँ । सामाजिक कुरीति हटाउने प्रयास गर्दा पनि अझै गाउँमा धामीझाँक्री आतङ्क छँदै छ । धामीझाँक्रीले सर्वसाधारणलाई देउवा लागिसक्यो । घरजग्गा छाडिहाल; घरखेत, गाईबाख्रा छाडिहाल भन्दै आतङ्क सिर्जना गर्न छाडेका छैनन् । सर्वसाधारण मानिस धामीझाँक्रीले घर छाड्न उर्दी जारी ग¥यो भन्दै रुँदै जनप्रतिनिधि गुहार्दै आउने गरेका छन् । समाजको मनोविज्ञान र 

मनोदशा चाहेर पनि एकैचोटि परिवर्तन गर्न सकेका छैनौँ । धामीझाँक्रीबाट कुटपिट भएका घटना उजुरीका रूपमा आउन थालेपछि प्रहरी बोलाएरै छलफल गराउनुपर्ने अवस्था छ । यसका लागि हामीले पालिकास्तरीय धार्मिक अगुवाबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।  


छेउमै महाकाली नदी बगेको छ, पञ्चेश्वरका अधिकांश बस्तीमा खानेपानीको समस्या छ । खानेपानीको समस्यालाई कसरी समाधान गरिरहनु भएको छ ?

खानेपानीको समस्या समाधान गर्न पञ्चेश्वर गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले अधिकांश बस्तीमा खानेपानीका धारा निर्माण गरेको छ । 

तर भएका मुहान सुक्न थालेपछि अबको विकल्प भनेको महाकालीबाट पानी तान्ने नै हो । महाकालीबाट पानी तान्न २५ लाख रुपियाँ बजेट छुट्याएका छौँ । पानीको समस्या झेलिरहेका गाउँमा सङ्घ र प्रदेश सरकारबाट पनि ठुला आयोजना सञ्चालनमा छन् । केही वर्षभित्र पञ्चेश्वरमा एक घर एक धारा निर्माण कार्य सम्पन्न हुन्छ । 


गाउँपालिकाको आगामी रणनीति के छ ?

‘समृद्ध पञ्चेश्वर’ कसरी बनाउन सकिन्छ भन्ने विषय नै मुख्य कुरा छ । गाउँपालिकामा आउने विकासको बजेट पारदर्शी र जनमुखी बनाउने विषयमा लागिपरेका छौँ । सङ्घीय सरकारबाट प्राप्त बजेटको अधिकतम सदुपयोग गरेर विकास निर्माण र जनताको जीवनस्तर बदल्ने कार्यक्रम निर्माण गरेका छौँ । 

पञ्चेश्वर गाउँपालिकामा भ्रष्टाचारसम्बन्धी गुनासो केकस्तो छ ?

सुशासनका विषयमा हामी निकै कडा छौँ । गाउँपालिकामा कतै पनि भ्रष्टाचार हुन दिने पक्षमा म छैन । यसका लागि गाउँपालिकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ । कतै भ्रष्टाचार हुन्छ भने जनतालाई सिधै गाउँपालिकामा उजुरी गर्न सूचित गरेका छौँ ।