• ७ पुस २०८२, सोमबार

उत्तरी गोरखाको लाप्राकमा पुग्यो केन्द्रीय प्रसारणको लाइन

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर ५ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा चार वर्षपछि केन्द्रीय प्रसारणको लाइनको बिजुली बलेको छ । विद्युत्त प्राधिकरण गोरखाको लामो मिहिनेतपछि लाप्राकमा विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख चीजबहादुर गुरुङले जानकारी दिनुभयो । 

बिहीबारबाट लाप्राक–४ वडा कार्यालयबाट मिटरबक्स जडान गरी बिजुली बाल्यौँ, कार्यालय प्रमुख गुरुङले भन्नुभयो, ‘नयाँ बस्तीका सबै घरधुरीहरुमा मिटर जडानको काम भइरहेकाले अबको केहि दिनमा सबै घर घरमा बिजुली बल्नेछ ।’

लाप्राकको ६० घर धुरीमा मिटर बक्स जडान गर्नका लागि दुई जना प्राविधिक खटाइएको छ, कार्यालय प्रमुख गुरुङले भन्नुभयो, ‘घर घरमा बिजुली बाल्नका लागि अहिलेसम्म ८० वटा निवेदन मात्र परेको छ भने अन्य ५ सय बीस घरधुरीको निवेदन आउने क्रम जारी छ ।’

लाप्राकमा भूकम्पपछि बनेका नमुना बस्ती र लाप्राकको पुरानो गाउँका सबै घरमा मिटरबक्स जडान गरी बत्ती बाल्ने काम निरन्तर भइरहने भएकाले लाप्राकवासीको बत्ती बाल्ने सपना पूरा हुने भएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो । 

लाप्राकमा ४ वर्षअघि ११ केभी क्षमताको लाइन विस्तार भए पनि आवश्यक मर्मत कार्य नहुँदा विद्युत् सेवा सञ्चालनमा आउन सकेको थिएन । बिहीबारदेखि कार्यालयले आवश्यक मर्मतपछि वितरण लाइन निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले लामो समयको पर्खाइपछि बत्ती बाल्न पाउने भएका छन् । 

सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित ठुलोस्वाँरा सबस्टेशनबाट विद्युत् प्रवाह गरी लाप्राकमा ३ वटा ट्रान्सफर्मर राखि नमुना बस्तीको गुप्सीपाखामा १०० केभीको क्षमता भएको एउटा र पुरानो बस्तीमा ५०-५० केभीको क्षमताका २ वटा ट्रान्सफर्मर राखिएको विद्युत्त वितरण केन्द्र गोरखाले जनाएको छ । 

लाप्राकमा यसअघि लघु जलविद्युतबाट प्रयाप्त शक्ति नपुग्दा भोलटेज कमी भई बत्ती मधुरो बल्ने, वाइफाइ नचल्ने र उज्यालोको लागि टुकी र लालटेन बालेर बस्नुपर्ने अवस्था हटेर जाने विश्वास गरिएको स्थानीयले बताएका छन् ।  

लाप्राकका वडा अध्यक्ष किसान गुरुङका अनुसार केन्द्रीय प्रसारण लाइन लगाएपछि लाप्राकमा चार वर्षको प्रतीक्षापछि उज्यालोले लाप्राकका घर र गल्लीहरु झिलीमिली बन्ने भएका छन् भने लाप्राकबासीको वर्षाैंपछि सपना पूरा भएको छ । 

विद्युत् प्रवाहका लागि गण्डकी प्रदेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र वडा अध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बत्ती बाल्दै केन्द्रीय प्रसारण लाइनको औपचारिक उद्घाटन गरेका थिए ।