• ५ मंसिर २०८२, शुक्रबार

इरान, पाकिस्तान र टर्कीबाट करिब तीन लाख अफगान निर्वासित

blog

काबुल (अफगानिस्तान), मङ्सिर ५ गते । लगभग ६० लाख विदेशी नागरिक हाल देशमा बसिरहेको जनाउँदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु वर्षमा १५ लाखभन्दा बढी आप्रवासी अफगानिस्तानमा फर्केको जनाउनुभएको छ ।

उनीहरुको स्वदेश फिर्तीको पुष्टि गर्दै, इरानको छिमेकी राष्ट्रसँग “ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध“ भए पनि आप्रवासीलाई व्यवस्थित गर्ने इरानको क्षमता सीमित रहेको बताएको मिडियाले जनाएका छन् । मोमेनीलाई उदृत गर्दै स्वदेश फर्किनेमध्ये ७० प्रतिशतभन्दा बढी स्वेच्छाले फर्केको टोलो न्यूजले जनाएको छ । 

यद्यपि, इरानी अधिकारीले इरान र पाकिस्तानमा अफगान आप्रवासीले कडा नीति र बढ्दो निर्वासन प्रणलीको कारण कठिन परिस्थिीतीको सामना गर्न बाध्य भएको जनाएका छन् । इरानमा रहेका अफगान आप्रवासीले इरानी सरकारले आप्रवासीलाई कुनै रोजगारी नदिइने घोषणा गर्नुका साथै आगामी दिनमा अफगान बालबालिकालाई स्कुलमा भर्ना नगर्ने सूचना जारी गरी आप्रवासीका ब्याङ्क कार्ड तथा सिमकार्ड निष्क्रिय गरिएको बताएका छन् ।

यसैबिच अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विदेशमा अफगान कैदी संलग्न भएको नयाँ घटना क्रमको रिपोर्ट जारी गर्दै हालसालै पाकिस्तानको जेलबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी रिहा भएको जनाएको छ । मन्त्रालयको प्रवक्ता अब्दुलमुतालिब हक्कानीले एक महिनाभन्दा कम समयमा इरान, पाकिस्तान र टर्कीबाट २ लाख ८४ हजारभन्दा बढी अफगानी नागरिकलाई निर्वासित गरिएको बताउनुभएको छ ।

उहाँले पाकिस्तानी जेलबाट रिहा भएका दुई हजार ७६ कैदीसहित निर्वासित आप्रवासीको कुल सङ्ख्या दुई लाख ८४ हजार ७१७ पुगेको बताउनुभएको छ । अफगानिस्तानमा युएनएचसीआरका प्रतिनिधिले हालै इरानबाट फर्केका अफगान आप्रवासीमाथि बढ्दो दबाबको चेतावनी दिंदै यो प्रवृत्ति अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा देखापरेको जनाएका छन् । रासस/एएनआई