• ५ मंसिर २०८२, शुक्रबार

युक्रेनका राष्ट्रपति जेलेन्स्की बढ्दो राजनीतिक र सैन्य दबाबबिच सङ्कटको घेरामा

blog

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की ।

किएभ, मङ्सिर ५ गते । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रूसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण शुरू भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा पर्नुभएको छ । 

भ्रष्टाचार काण्ड, राजनीतिक अशान्ति, अमेरिकी-रुसी नयाँ शान्ति प्रस्ताव र युद्धभूमिको कष्टकर अवस्थाबिच उहाँमाथि दबाब दिन प्रतिदिन बढ्दै गएको छ । एक साताभन्दा बढी समयदेखि राष्ट्रपति जेलेन्स्की शीर्ष अधिकारी तथा नजिकका सहयोगी संलग्न भएको भनिएको करिब १० करोड डलरको ठूलो भ्रष्टाचार काण्डको असर नियन्त्रण गर्न निरन्तर सङ्घर्षरत हुनुहुन्छ । 

यसबिच संयुक्त राज्य अमेरिकाले युक्रेनबाट व्यापक सहुलियत माग्ने तर रुसलाई थोरै मात्र प्रतिबद्धता प्रदान गर्ने नयाँ शान्ति प्रस्ताव अघि बढाएको छ, जसले जेलेन्स्कीमाथि थप दबाब सिर्जना गरेको छ । रुस एक हजार किलोमिटर (६२० माइल) लामो अग्रमोर्चाका केही क्षेत्रमा ढिलो तर निरन्तररूपमा अगाडि बढिरहेको छ । साथै युक्रेनका पावर प्लान्टलाई निरन्तर प्रहार गरिरहेको छ, जसका कारण चिसो मौसममा बिजुलीको गम्भीर अभाव देखिन थालेको छ । 

राष्ट्रपति जेलेन्स्कीले सामना गरिरहनुभएको बढ्दो चुनौती बुझ्न आवश्यक पाँच मुख्य पक्ष यस्ता छन् :

-विद्रोह र भ्रष्टाचार काण्डको दबाब-

ऊर्जा क्षेत्रसँग सम्बन्धित ठेकेदारले भुक्तान गरेको भनिएको किकब्याकमार्फत करिब १० करोड डलर दुरुपयोग भएको खुलासा भएपछि युक्रेनका भ्रष्टाचार निगरानी संस्थाले मुद्दा सार्वजनिक गरे र त्यसपछि राष्ट्रपति जेलेन्स्की आफ्नै दलभित्रका सांसदको असन्तोष र विद्रोहसँग जुधिरहनुभएको छ ।

जेलेन्स्कीले अनुसन्धान सार्वजनिक भएपछि दुई शीर्ष अधिकारीलाई पदबाट हटाउनुभयो र नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाउनुभयो । आरोपितमध्ये एक जना तिमुर मिन्डिच देश छाडेर भागेको बताइन्छ । मिन्डिच राष्ट्रपति बन्नुभन्दा अघि जेलेन्स्कीको स्वामित्व रहेको एक मिडिया उत्पादन कम्पनीमा साझेदारी राख्थे ।

कसै-कसैले राष्ट्रपति कार्यालयका शक्तिशाली प्रमुख, एन्ड्री यर्माकलाई बर्खास्त गर्न आग्रह गरिरहेका छन् । अनुसन्धानकर्ताले न त जेलेन्स्की न त यर्माकमाथि प्रत्यक्ष गलत काम गरेको आरोप लगाएका छन्, तर यर्माकको उच्चस्तरीय प्रभाव तथा सरकारी नियुक्तिमा निर्णायक शक्तिका कारण सांसद उहाँलाई जिम्मेवार ठहरिनुपर्ने व्यक्तिका रूपमा देखिरहेका छन् ।

राजनीतिक विश्लेषकका अनुसार यदि यर्माक पदबाट हट्नुभएन भने जेलेन्स्कीको दल सर्भन्ट अफ द पिपुलले सन् २०१९ मा दुई-तिहाइभन्दा बढी सिट जिते पनि हालको अस्थिरताले दलभित्र फाटो वा संसदीय बहुमत गुम्ने जोखिम बढेको छ ।

स्वतन्त्र विशेषज्ञ माइकोला डेभिडियुकका अनुसार जेलेन्स्कीको व्यवस्थापन शैलीले वर्तमान अवस्थामा प्रभावकारीरूपमा काम गरिरहेको छैन र भ्रष्टाचार काण्डप्रति उहाँको प्रतिक्रिया युक्रेनका विदेशी सहयोगीसँगको सम्बन्धमा निर्णायक हुन सक्छ ।

-शक्तिमा जेलेन्स्कीको पकड तत्काल जोखिममा छैन-

रुससँगको युद्धका कारण युक्रेनमा मार्शल ल लागू भएको छ, जसले राष्ट्रपति तथा संसदीय चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ । त्यसैले लोकप्रियता घटे पनि वा संसदमा समर्थन कमजोर भए पनि युद्ध जारी रहेसम्म जेलेन्स्कीले स्वेच्छाले राजीनामा नदिएसम्म पद गुमाउने सम्भावना अत्यन्त कम छ ।

युद्धअघि अर्को राष्ट्रपति चुनाव सन् २०२४ को वसन्तमा तय गरिएको थियो । तर राजनीतिकरूपमा बढ्दो चुनौतीले रुससँगको कुनै सम्भावित शान्ति सम्झौतालाई संसदमार्फत अघि बढाउने जेलेन्स्कीको क्षमता कमजोर पार्न सक्छ । यदि युद्धपछि पुनः चुनावमा गएको अवस्थामा यर्माकको निरन्तर उपस्थिति उहाँको भविष्यको सम्भावनामा बाधक बन्न सक्ने विश्लेषकको भनाइ छ ।

-पूर्व सेना प्रमुख जलुज्नी सम्भावित प्रतिद्वन्द्वी-

वर्तमान अवस्थामा कुनै पनि विपक्षी नेता यथार्थरूपमा जेलेन्स्कीका लागि खतरा स्वरूप उभिन सक्ने स्थितिमा छैनन् । तर सबभन्दा सम्भावित चुनौती भ्यालेरी जलुज्नी हुन सक्ने अड्कल छ । जलुज्नीले युद्धको प्रारम्भिक चरणमा सफल प्रतिआक्रमण निर्देशन गर्नुभयो र २०२३ को अन्त्यतिर जेलेन्स्कीले उहाँलाई पदबाट हटाउनुभयो ।

हाल जलुज्नी बेलायतका लागि युक्रेनका राजदूत हुनुहुन्छ र उहाँले राजनीतिक आकांक्षा अस्वीकार गरे पनि सार्वजनिक सर्वेक्षणले उहाँलाई जेलेन्स्कीको सम्भावित प्रतिस्पर्धीको रूपमा देखाइरहेका छन् ।

-अमेरिका-रुसको नयाँ युद्ध अन्त्य प्रस्ताव-

संयुक्त राज्य अमेरिका र रुसले तयार पारेको नयाँ प्रस्तावले युक्रेनलाई गम्भीर सहुलियत गर्न आह्वान गर्छ, जसमा केही क्षेत्र रूसलाई हस्तान्तरण गर्नु, केही हतियार त्याग्नु र अमेरिकी सैन्य सहयोगमा कटौती गर्नु समावेश छ । प्रस्तावअनुसार पूर्वी डोनबास क्षेत्रको पूर्ण नियन्त्रण रुसलाई दिने योजना छ । 

यसको ठूलो अंश युक्रेन अझै नियन्त्रणमा राखिरहेको भए पनि मस्कोले वर्षौदेखि यस क्षेत्रमा दाबी गर्दै आएको छ । राष्ट्रपति जेलेन्स्कीले विगतमा यस्तै प्रस्तावलाई ‘असंवैधानिक र अन्यायपूर्ण’ भन्दै अस्वीकार गर्नु भएको थियो । उहाँले नयाँ प्रस्तावबारे अझै टिप्पणी गर्नु भएको छैन ।

योजनाबारे छलफल भइरहँदा युक्रेनमा भ्रष्टाचार काण्ड बढ्दै जानुले परिस्थितिलाई झनै संवेदनशील बनाएको युक्रेन विशेषज्ञ ओरिसिया लुत्सेविचको भनाइ छ । “जेलेन्स्कीको कमजोरी देखेर अमेरिका र रुसले थप दबाब दिन खोजे, तर यो रणनीति अपेक्षितरूपमा नचल्न पनि सक्छ किनकि युरोपेली सहयोगी युक्रेनको पक्षमा जुट्न थालेका छन्”, उहाँले भन्नुभयो ।

-अगाडि र देशभरि बढ्दो सैन्य दबाब-

यसैबिच रुसी सेनाले अग्रमोर्चामा साथै युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ । रुसका सैनिकले उत्तर-पूर्वी खार्किभ क्षेत्रमा कुपियान्स्क र लाइमान सहरमाथि बढ्दो दबाब सिर्जना गरिरहेका छन् । यी दुवै सहर सन् २०२२ मा युक्रेनले रुसबाट फिर्ता गरेको थियो । तर सबैभन्दा कडा युद्ध पूर्वी डोनेट्स्क क्षेत्रको महत्वपूर्ण रसद केन्द्र, घेराबन्दीमा परेको पोक्रोभ्स्क क्षेत्रमा भइरहेको छ ।

नोभेम्बर महिनामा युक्रेनका पावर प्लान्टमा भएको निरन्तर आक्रमणले युद्ध शुरू भएदेखि सबैभन्दा गम्भीर बिजुली सङ्कट निम्त्याएको छ । यसबिच राष्ट्रपति जेलेन्स्की आन्तरिक राजनीतिक उथलपुथल, बाह्य कूटनीतिक दबाब र युद्धभूमिको बिग्रँदै गएको परिस्थितिबिच देशको भविष्यका लागि कठोर निर्णय लिँदै अघि बढ्न बाध्य देखिनुभएको छ । रासस/एपी