प्रवीणकुमार शर्मा
रौतहट, मङ्सिर, ५ गते । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब सवा ८ बजेको समयमा बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा गरुडा नगरपालिका -१ जयनगरका रंजन साहका २ वर्षीय छोरा आदित्यकुमार साह छन् । जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको ओम एकेडेमी स्कुलको बसले साहलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बस्यालका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका बालक साहको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको उहाँले बताउनुभयो ।
ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा बस चालक फरार रहेकोले उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।