• ५ जेठ २०८१, शनिबार

‘नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकार सकारात्मक’

blog

चितवन, फागुन २६ गते । नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा देश विदेशका गरी १८० वटा औषधी उद्योग, औषधी उपकरण तथा स्वास्थ्य विज्ञानसम्बन्धी स्टलहरू प्रदर्शन गरिएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपाली उद्योगले आत्मनिर्भरको विषय उठाउँदै गर्दा नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगलाई काम लाग्ने औषधी उत्पादन गर्नुपर्ने बताउनुभयो । डा. देवकोटाले नेपाली औषधीले गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले एउटै औषधी धेरै कम्पनीले उत्पादन गर्न नहुने बताउनुभयो । डा. देवकोटाले नेपालमा के–के रोगहरू छन्, कस्ता औषधीको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधी उत्पादन गर्नुपर्ने बताउनुभयो । 

उहाँले औषधीको मूल्य समायोजनमा ध्यान दिन सकिने भन्दै त्यसका लागि औषधीको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्रबिच खाडल रहेको भन्दै उहाँले खाडल छैन भनेर सकारात्मक रूपमा बुझ्नु आग्रह गर्नुभयो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीसम्बन्धी फर्मा एक्स्पोले औषधी उत्पादनको क्षमता प्रदर्शन गरेको बताउनुभयो । 

उहाँले चिकित्सकले बिरामीलाई कुन औषधी लेख्नुहुन्छ, त्यहाँबाट उनीहरूको नियत प्रस्ट हुने बताउनुभयो । उहाँले नेपाली चिकित्सकले नेपाली औषधीको मात्र प्रेस्किप्सन गर्नुपर्नेमा जोड दिनुभयो । सरकार र निजी क्षेत्र दुवैले प्रतिस्पर्धा चाहेको उल्लेख गर्दै उहाँले नेपाली औषधीले काम गर्दैन भन्ने सुन्न नपर्ने गरी गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । 

नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले नेपालको औषधी अरू देशको तुलनामा गुणस्तरीय रहेको बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

अहिलेको परिस्थितिमा सबै उद्योगहरू अप्ठ्यारोमा परेको भन्दै उहाँले यो बेला संयमता अपनाउनुपर्ने समय रहेको बताउनुभयो । उहाँले सरकारीस्तरबाट खरिद गर्ने औषधी नेपाली भएसम्म विदेशी खरिद नगर्न सरकारलाई आग्रह गर्नुभयो । एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डले औषधीका आधारभूत कुरामा अल्झनभन्दा विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताउनुभयो । 

एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुला अर्थबजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुला बजारमा औषधीलाई नियन्त्रणमा राख्न नहुने बताउनुभयो । उहाँले औषधीको मूल्य बजारले नै निर्धारण गर्ने बताउनुभयो । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले औषधी उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताउनुभयो । उहाँले औषधी उद्योगलाई दिगो बनाउनका लागि नीतिभन्दा पनि नियत खराब रहेकाले फस्टाउन समस्या रहेको बताउनुभयो । आयुर्वेद औषधी उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहीँ पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल औषधी व्यवसायी सङ्घ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललित मोहन पन्थ, नेपाल केमिकल एन्ड मेडिकल सप्लायर्सका भक्त हमाललगायतले नेपाली औषधी आत्मनिर्भरमा जोड दिनुभयो । कार्यक्रमका एक्स्पो संयोजक प्रभात रुङ्गटाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । 

सङ्घले चितवनमा ‘नेपालमा औषधी उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रबारदेखि आइतबारसम्म ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो । एक्स्पोमा  नौ देशको सहभागिता रहेको छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।