• १० पुस २०८१, बुधबार

जनक्रान्तिको जग फागुन ७

blog

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले सन् १८६३ मा एक सम्बोधनमा भन्नुभएको थियो, “यी सहादत प्राप्त गर्नेहरूको जीवन व्यर्थैमा गएको छैन । यो राष्ट्रमा स्वतन्त्रताको नयाँ आरम्भ हुने छ र जनताद्वारा जनताको शासन, जनताकै लागि स्थापित हुने छ ।” स्मरणीय छ, नेपाल र अमेरिकाको इतिहास एउटै होइन, उस्तै होइन । नेपाल देशभित्रै निरङ्कुश शासकको क्रूर शासनबाट शासित भयो तर अमेरिका पराधिन भयो । पराधिन परिवेशको चङ्गुलबाट मुक्त गर्न अमेरिकी नागरिक जसरी सङ्घर्षमा होमिए, नेपाली नागरिकले आन्तरिक स्वतन्त्रताकै लागि गरेको क्रान्तिकारी सङ्घर्ष झन् गौरवमय छ । राणाशासनको जन्जिरबाट नेपाल राष्ट्रलाई मुक्त गराउने सपनाका साथ कर्मवीर, क्रान्तिवीर योद्धाहरूले आफ्नो प्राण आहुति दिएर लेखेको इतिहासको स्वर्णिम दिन फागुन ७ गते उहाँहरूको सम्झना गर्दै, श्रद्धासुमन अर्पण गर्दै छौँ । २००७ मा प्रजातन्त्र स्थापनाकै लागि वि.सं. १९९७ मा महान सहिद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीले आफ्नो जीवनको आहुति दिनुभयो । त्यसपछि पनि नेपाल देशमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र नागरिक हकहितका लागि पूर्ण प्रजातन्त्र एवं लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहादत प्राप्त गर्ने सम्पूर्ण अमर सहिदप्रति हार्दिक श्रद्धाञ्जली ! साथै हामी सम्पूर्ण नेपाली नागरिकमा ती सहिदको सपना साकार पार्ने दृढ सङ्कल्प र अठोट लिने प्रेरणा प्राप्त होस्, यही कामना ।

इतिहासप्रति गौरवान्वित हुँदै वर्तमानको मिहीन समीक्षा गरी समुन्नत र समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दायित्वबोध गरी सुन्दर भविष्य निर्माण गर्नु छ । यसका लागि समुन्नतिका नवीन कार्यदिशा निर्माण गर्नु छ । मुख्यतः प्रमुख राजनीतिक दलहरूमाथि गम्भीर बहसको थालनी हुँदै छ । व्यापक विमर्शमार्फत साझा एजेन्डामार्फत नागरिकको अपेक्षा पूरा गर्ने दायित्व दलहरूकै हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आठ वर्ष पूरा हुँदा राणाकालीन निरङ्कुशतन्त्र र पञ्चायतका कठिन सङ्घर्षलाई साक्षी राखेर राष्ट्रका तमाम सङ्कट हल गर्नु पर्छ । २००७ अघि राणाविरोधी आन्दोलनका दौरान तत्कालीन राजा त्रिभुवन शाह, कांग्रेस नेताहरू र राणाको सत्ताबिच सहमतिपछि नेपालमा नयाँ अध्याय प्रारम्भ भयो । त्रिपक्षीय सम्झौतामा जनताबाट निर्वाचित सभाबाट संविधान निर्माण गर्ने, अन्तरिम मन्त्रीमण्डल गठन, राणामा रहेको अधिकार राजालाई सुम्पिने र वैधानिक रूपमा राजा त्रिभुवन गद्दीमा रहने राजनीतिक दल तथा सङ्गठन खोल्न कुनै प्रतिबन्ध नहुने, राजबन्दी रिहासहितका मुद्दामा सहमति भएपछि २००७ फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भयो । 


गणतन्त्र नेपाल र अबको कार्यभार

प्रजातन्त्र स्थापनाको एक दशकपछि नै पञ्चायती व्यवस्था सुरु भयो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था सुरु गर्नुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा पञ्चायत विरोधी आन्दोलन सुरु भयो । पञ्चायत ३० वर्ष चलिरहँदा देश ५० वर्ष पछाडि धकेलियो । नागरिकको स्वतन्त्रता खोसियो । बिपी कोइरालाले भनेजस्तो प्रजातान्त्रिक विधिबाट निर्वाचित भई १५ वर्षसम्म निरन्तर शासन गरेर जनतालाई भोकमरी र गरिबीबाट मुक्त गराउने योजना पनि पञ्चायती शासनको सुरुवातसँगै समाप्त भयो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले भन्नुभयो, “महामानव बिपी कोइरालाले निर्वाचित भएपछि शासन सत्ता सञ्चालन गर्न पाएको भए, जेलनेल र निर्वासनमा जानु नपरेको भए नागरिकको स्तर धेरै माथि हुने थियो । किनकी बिपीमा नागरिकका पक्षमा काम गर्ने एजेन्डा थियो, सोच थियो, देशलाई नवीन रूपान्तरणका साथ अगाडि बढाउने दृढ लक्ष्य थियो, जुन पञ्चायती शासकमा थिएन ।” उहाँले पञ्चायतकालमा सडक मार्ग र उद्योग खोलिएको प्रसङ्गमा भन्नुभयो, “प्रजातन्त्र, नागरिकको स्वतन्त्रता र विकास सँगसँगै लैजानुपर्छ तब मात्रै देश समुन्नत हुन्छ । त्यसैले निरङ्कुशता शासनमै विकास गरेँ भन्नुको अर्थ रहँदैन ।” डा. यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि राजनीतिक दल र नेतृत्वमाथि ठुलो जिम्मेवारी आइपरेको बताउनुभयो । उहाँले नागरिकको चाहनाबमोजिम आधारभूत आवश्यकता पूरा गर्ने र राष्ट्रको समुन्नतिका पक्षमा काम गर्ने उत्तरदायित्वबोध नेतृत्वले गर्नैपर्ने बताउनुभयो । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको महान् सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माण भयो । राजनीतिक परिवर्तनसँगै संविधानमै गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था संस्थागत भइसकेका छन् । राजनीतिक उपलब्धिको संरक्षण गर्नु राजनीतिक दल र नेतृत्वको दायित्व हो । अनि मात्रै प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका क्रान्तिमा सहादत प्राप्त सहिदको सपना साकार हुने छ ।” पूर्वउपराष्ट्रपति पुनले प्रजातन्त्र दिवसमा भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, न्याय, समानता र नागरिक स्वतन्त्रता अझै सुदृढ बनाएर समुन्नतिको महान् जनआकाङ्क्षा साकार पार्नु हामी सबैको दायित्व हो भन्नुभयो । उहाँले बलिदानीपूर्ण जनसङ्घर्षकै ताकतबाट निरङ्कुश राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण क्षणको स्मरण गरी नागरिकको परिवर्तन र रूपान्तरणको अविरल चाहना पूरा गर्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रथम राष्ट्रपति डा. यादवको धारणामा सहमति व्यक्त गर्दै भन्नुभयो, “संविधान निर्माणको आठ वर्ष बितिसक्दा पनि नागरिकले चाहे जस्तो राज्यको सेवासुविधा पाउन नसक्नु र समय अनुकूल विकासको यात्रा तय गर्न नसक्दा नागरिकमा निराशा बढेकै छ । त्यसैले हामीले हाम्रा कार्यशैलीमा सुधार गर्नु छ । राज्य जिम्मेवार बन्नु पर्छ र नागरिकलाई रोजगारीसहित आधारभूत वर्गका आवश्यकता पूरा गर्नु पर्छ ।” उहाँले प्रजातान्त्रिक अभ्यास र लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनबाट सामाजिक न्याय, न्यायमा पहुँच, राज्यका निकायमा सहज पहुँच र नागरिकका पक्षमा कानुन निर्माणलाई तीव्र पार्नुपर्ने बताउनुभयो । उहाँको जोड छ, “२००७ देखि अहिलेसम्म निरन्तर सङ्घर्षमा आफ्नो अमूल्य जीवन खर्चिएका नेपाली जनतालाई अब समुन्नति र समृद्धिमार्फत राजनीतिप्रति विश्वास वृद्धि गर्ने आधार दिनु पर्छ ।”

प्राणभन्दा प्यारो प्रजातन्त्र !

२००७ भन्दाअघि र त्यसपछि पनि नेपालको इतिहासमा पूर्ण प्रजातन्त्र स्थापनाका लागि नागरिक तहबाट प्राण नै दाउमा राखेर सङ्घर्षमा होमिएको देखिन्छ । २००७ अघि सशक्त रूपमा सङ्घर्षमा नहोमिए पनि त्यसयता प्रजातन्त्रको पक्षमा निरन्तर आवाज बुलन्द गर्दै आउनुभएका अग्रज पत्रकार भैरव रिसालले २००७ को कठिन घडीलाई निकै भावुक हुँदै स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्रभन्दा सुन्दर के हुन्छ र ! नागरिकलाई चाहिएकै प्रजातन्त्र हो, स्वतन्त्रता हो, न्याय र रोजगारी हो । त्यसैले २००७ मा प्रजातन्त्र स्थापना हुँदा हामी पूरै स्वतन्त्र भयौँ भन्ने लागेको थियो ।” २००७ मा उहाँ २२ वर्षको हुनुहुन्थ्यो । सोही दौरान केही अभियानमा पनि उहाँ सहभागी हुनुभयो । २००७ कात्तिकमा उहाँ भारत जानुभयो । प्रजातन्त्रको पक्षमा अभियानकै क्रममा लाग्नुभएका तत्कालीन राजा त्रिभुवनको पक्षमा विमानस्थलसम्म जाने माहोल बनाउने कार्यमा खटिनु भएछ । उहाँले भन्नुभयो, “हामी आन्दोलनमा गयौँ, त्यतिबेला चन्द्रबहादुर थापाले सिपाही लिएर बागमती पुलमा बसेका रहे छन्, हामी भागेर आउन खोज्यौँ तर मिलेन । 

अनि खेतैखेत आयौँ, बागमती नदीमा जुत्तैसँग हामफाल्यौँ । हेर्दा एउटा खुट्टामा मात्रै जुत्ता छ, त्यो पनि फालेर हिँडे । सारमा त्यतिबेलाको समय अत्यन्तै कठिन थियो । जनताले बोल्न, हिँड्न र अहिले जस्तो आफ्नो विचार राख्न पाउँदैन थिए । प्रजातन्त्र प्राणभन्दा प्यारो थियो, छ ।”

नेपाल र नेपाली जनतालाई निरङ्कुश चक्रबाट मुक्त गराउने महान अभियानमा लागेका सहिद र क्रान्तिवीर योद्धाहरूको सपना अझै पूरा हुन सकेको छैन । वरिष्ठ पत्रकार एवं साहित्यकार रिसालले भन्नुभयो, “अब नेपाल देशलाई समुन्नत र समृद्ध बनाउन रोक्न भनेको एउटै कुरा छ, त्यो भनेको भ्रष्टाचार हो । भ्रष्टाचारलाई मात्रै रोक्न सकियो भने नेपालको उन्नति हुन कहाँ धेरै समय लाग्छ र !” यसका लागि संविधानले निर्दिष्ट गरेका नागरिकका अधिकार र राज्यले पालना गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्ने उहाँको सुझाव छ । पूर्वप्रधानमन्त्री नेपालले सङ्घीयता, समावेशी प्रतिनिधित्व, समानुपातिक व्यवस्था, न्यायमा नागरिकको पहुँच र रोजगारीको प्रबन्ध गर्ने विषयमा मात्रै सरकार केन्द्र भएमा देश समुन्नत बनाउन समय नलाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहिदको सपना पूरा गर्ने अठोट हुँदाहुँदै पनि हामीबाट केही कमीकमजोरी भएकै छ, त्यसैले यसको समीक्षा गरेर राष्ट्रलाई समृद्ध बनाउन हामी एकताबद्ध भएर लाग्नु पर्छ ।”

राज्यको कर्म नै धर्म

समाजवादी चिन्तक एवं विचारक स्व. प्रदीप गिरीले गोरखापत्रसँगको आफ्नो अन्तिम संवादका क्रममा भन्नुभएको थियो, “लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर यो कसका लागि ? ठुलाठालुका लागि मात्रै हो ? होइन, यो त श्रमजीवी जनताका लागि हो, किसानका लागि हो, मजदुरका लागि हो, श्रमिकका लागि हो । राज्यले कर्मबाट धर्म निभाउनु पर्छ तर अहिलेको समयमा धर्म र राजतन्त्रको विषयमा बहस गरेर समय बर्बाद गर्ने तप्का पनि छ ।” उहाँको असन्तुष्टि राजसंस्था र धर्मको विषयमा उठेको बहसका सन्दर्भमा थियो । बिपी कोइरालाले ‘राजा र प्रजातन्त्रको घाँटी जोडिएको छ’ भन्नुभएको भनि बहस गरिएको सन्दर्भमा पनि चिन्तक गिरीले प्रस्ट पार्नुभएको थियो, “बिपीले राजा र प्रजातन्त्रको घाँटी जोडिएको छ भन्नुभएको साँचो हो तर त्यसको तात्पर्य के हो भने राजाले प्रजातन्त्रको घाँटीमा छुरा चलाए भने राजाको पनि गला रेटिन्छ भनेको हो । कांग्रेस राजतन्त्रको पक्षमा छ भनेको होइन । राजालाई सचेत गराएको हो ।” कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसबारे प्रस्ट पार्दै भन्नुभयो, “तत्कालीन समयमा कांग्रेसले राजसंस्थालाई स्थान दिइरहँदा तत्कालीन राजाहरूबाट प्रजातन्त्र कुल्चिने काम जसरी भयो, त्यही कारण प्रजातन्त्र र राजसंस्था एकै साथ नजाने रहेछ भन्ने निष्कर्षकै आधारमा कांग्रेसले लोकतान्त्रिक गणतन्त्रको नवीन बाटो रोजेको हो । त्यसैले सबैले आआफ्नो धर्म मान्ने हो, राज्यको चाहिँ कर्म नै धर्म हो । राज्यले नागरिकको पक्षमा काम गरेर आफ्नो धर्म निर्वाह गर्नु पर्छ ।” 

२००७ मा प्रजातन्त्र स्थापना, २०१७ मा पञ्चायती व्यवस्था, २०४६ मा पुनः प्रजातन्त्र प्राप्ति, २०५८ को दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनसम्म आइपुग्दा यी सबै शासन भोगेका नेपाली नागरिकको सङ्ख्या थोरै छ तर पञ्चायती व्यवस्थाका कालारात्रि भोग्ने नेपाली नागरिक अर्थात् अहिलेको दोस्रो पुस्ता ठुलै सङ्ख्यामा छ । नागरिकको स्वतन्त्रताका पक्षमा लडेको त्यो पुस्ताको इतिहासलाई सम्मान गर्दै नवीन नेपाल निर्माणको सङ्कल्प र त्यो लक्ष्य हासिल गर्ने साहस बोकेर अब एक पटक नवीन रूपान्तरण र आर्थिक क्रान्तिको अभियानमा होमिने बेला आइसकेको छ । अहिले उठेका अनेक बहसका भित्री कारण खोजेर नागरिकलाई रोजगारीको कोसेलीमार्फत वर्तमान राजनीतिक नेतृत्व र राजनीतिप्रति विश्वास जगाउन सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमाथि राष्ट्र निर्माणको अभूतपूर्व अवसर छ । त्यसमा नेपाली कांग्रेससहित परिवर्तनका लागि निरन्तर लडेका दलको साथ छ, समर्थन छ । त्यसैले राष्ट्रलाई भ्रष्टाचारको जन्जिरबाट मुक्त गराएर नागरिकमा पलाएको आशा र विश्वासलाई अझै सशक्त रूपमा सञ्चार गर्न सकेमा मात्र अहिलेको राजनीतिक नेतृत्व र व्यवस्थाको स्थिरताका लागि नागरिक तहबाटै पहलकदमी सुरु हुन्छ । दशक–दशकमा व्यवस्था परिवर्तन हुने तर नागरिकको अवस्था जस्ताको तस्तै हुने, ग्रामीण ऋण ग्रस्तता र गरिबीले पिल्सिरहँदा राज्य जिम्मेवार नहुने विकृतिमाथि प्रधानमन्त्री प्रचण्डले ठुलो आँटका साथ प्रहार गर्ने क्षमता राख्नुहुन्छ । अब भ्रष्टाचार र बेथितिविरुद्ध र आर्थिक समुन्नतिको पक्षमा प्रधानमन्त्री प्रचण्डसहित वर्तमान राजनीतिक नेतृत्वले नवीन शैलीको अन्तिम ‘जनयुद्ध’ लड्नै पर्छ । अनि मात्रै राजनीतिक रूपान्तरण र आर्थिक सुदृढीकरणको नयाँ अध्याय आरम्भ हुन्छ र सहिदको सपना साकार हुन्छ । कर्मवीर क्रान्तिकारी एवं महान सहिदको रगतले लेखिएको कथा पूरा हुन्छ । 

सबैलाई प्रजातन्त्र दिवसको शुभकामना