- निर्वाचन प्रहरी हुँदा समयको पालना, अनुशासन र जिम्मेवारीबोध झन् बढेको महसुस भएको छ ।
- प्रौढदेखि नयाँ पुस्ताको अनुभव, जोश राष्ट्रभक्ति र जिम्मेवारी रूपान्तरणका लागि समेत यो अवसर अनुकरणीय रह्यो ।
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । रुपन्देहीको तिलोत्तमा–१ का ४७ वर्षीय प्रेमप्रसाद पौडेल निर्वाचन प्रहरीको ४० दिने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी घर फर्किनुभयो । पौडेलका लागि नेपाल प्रहरीको अस्थायी छोटो जागिर केवल रोजगारी मात्र नभई अनुभव, सिकाइ र जीवनमा नयाँ ऊर्जा थप्ने अवसर बन्यो ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीमध्ये पौडेलले पाको उमेरमा राष्ट्रसेवा गर्ने दृढइच्छा र आत्मविश्वासले निर्वाचन प्रहरीसम्म पु¥यायो । लामो समय वैदेशिक रोजगारीमा बिताउनुभएका पौडेलले सरकारी सेवामा काम गर्ने अवसर मिल्ला भनेर कल्पनासम्म गर्नुभएको थिएन । वैदेशिक रोजगारीबाट फर्केलगत्तै निर्वाचन सुरक्षार्थ अस्थायी प्रहरी भर्ना खुलेपछि उहाँलाई सरकारी कर्मचारी बनेर राष्ट्रसेवामा खटिने अवसर जुट्यो ।
निर्वाचन प्रहरीको अनुभव सुनाउँदै पौडेलले भन्नुभयो, “सरकारी सेवामा काम गर्ने अनुभव पनि हुने, केही आम्दानी पनि हुने भन्ने सोचले भर्ना भएको हुँ, यो ४० दिन मेरो जीवनका सबैभन्दा महìवपूर्ण र सम्झनलायक क्षण रह्यो ।”
कक्षा १२ सम्म अध्ययन गर्नुभएका पौडेल अहिले आफ्नै टोलको देवस्थान टोल विकास संस्थाका अध्यक्ष पनि हुनुहुन्छ । गाउँटोलका साना ठुला समस्या समाधानमा सव्रिmय रहँदै आउनुभएका उहाँको दैनिक जीवन निर्वाचन प्रहरी बनेपछि अनुशासित र नियमित बनेको अनुभव उहाँले सुनाउनुभयो । निर्वाचन प्रहरी हुँदा समयको पालना, अनुशासन र जिम्मेवारीबोध झन् बढेको महसुस भएको र विदेशमा काम गर्दा जस्तै कडा अनुशासनको अनुभव गरेको बताउँदै पौडेलले यसले समाजप्रतिको उत्तरदायित्व अझ बढाएको महसुस भएको अनुभव सुनाउनुभयो ।
पौडेलसँगै देशभर झन्डै डेढ लाख निर्वाचन प्रहरी १९ देखि ३० वर्ष उमेर समूहबिचको अनुभव आदानप्रदान पनि अत्यन्तै महत्वपूर्ण रहेको सहभागीको अनुभव छ । प्रौढदेखि नयाँ पुस्ताको अनुभव, जोश राष्ट्रभक्ति र जिम्मेवारी रूपान्तरणका लागि समेत यो अवसर अनुकरणीय रह्यो । युवापुस्तासँग काम गर्दा आफूलाई पनि नयाँ ऊर्जा मिलेको अनुभव सुनाउँदै पौडेलले भन्नुभयो, “युवाको जोश र उत्साहले मलाई पनि थप जवान भएको अनुभूति गराएको छ ।” कुनै पनि काम सानो ठुलो नहुने र कामप्रतिको सम्मान र मेहनतले नै व्यक्ति, परिवार र समाजलाई अगाडि बढाउने बताउँदै उहाँले विदेशमा जुनसुकै कामलाई सम्मान गर्ने भएकाले विकास सम्भव भएको अनुभव सुनाउनुभयो । उमेर बढ्दै गएपछि काम नगर्ने प्रवृत्ति र सोच बदल्न जरुरी रहेको उहाँले बताउनुभयो ।
छोटो समयको रोजगारीले आर्थिक रूपमा सानो सहयोग भए पनि परिवारमा खुसी र आत्मविश्वास बढाएको र समाजमा अझ सक्रिय भएर नेतृत्व गर्न प्रेरणा दिएको अनुभव गरेको पनि पौडेलले बताउनुभयो । ४० दिनको निर्वाचन प्रहरी अनुभवबारे पौडेल भन्नुहुन्छ, “मन बलियो भए उमेरले रोक्दैन, कामलाई सानो ठुलो नभनी इमानदारीपूर्वक गर्न सके मनमा शान्ति मिल्छ । मन शान्त भयो भने जीवन पनि सुखी हुन्छ ।”
कालीकोट खाँडाचव्रm–३, ताडीका गोविन्द देवकोटालाई स्थानीयले घर फर्कंदा पैसाको माला लगाएर स्वागत गरे । देवकोटाले निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरीको जिम्मेवारी पूरा गरेर घर फर्कंदा पाएको माया र सम्मान जीवनकै अविस्मरणीय क्षण भयो । विगतका नौ वटा निर्वाचनमा म्यादी प्रहरी भइसक्नुभएका देवकोटा यस पटक निर्वाचन प्रहरी भई राष्ट्रसेवा गर्न पाएकोमा गर्व गर्दै भन्नुहुन्छ, “विशेष अवस्थामा सम्पन्न निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने जिम्मेवारी वहन गर्दा गौरवान्वित महसुस भएको छ ।” निर्वाचन प्रहरी बन्दा राष्ट्रसेवासँगै आम्दानीसमेत हुने हुँदा आफूले पटक पटक यसमा आकर्षित भएको पनि उहाँले अनुभव सुनाउनुभयो ।
विगतमा निर्वाचनमा आफूले इमानदारीपूर्वक जिम्मेवारी वहन गरेकाले यस पटक पनि गाउँकै एउटै व्यक्ति नौ पटकसम्म म्यादी प्रहरीको जिम्मेवारी पूरा गर्नु गाउँका लागि गौरवको विषय भएको भन्दै स्थानीयले उहाँलाई भव्य स्वागतसँगै सम्मान गरेको स्थानीय लक्ष्मणबहादुर शाहीले बताउनुभयो । विक्रम संवत् २०५४ सालदेखिका प्रत्येक निर्वाचनमा देवकोटाले निर्वाचन प्रहरीको भूमिका निर्वाह गर्दै आउनुभएको छ । पहिलो निर्वाचनमा चार हजार दुई सय रुपियाँ तलब पाउनुभएका देवकोटाले यस पटक ४९ हजार रुपियाँ बुझेको बताउनुभयो ।
रुकुमपश्चिमको मुसीकोट–२, रातामाटाका ५२ वर्षीय टेकबहादुर खड्का यसपालि छैटाँै पटक निर्वाचन प्रहरीमा खटिनुभयो । विसं २०५१ सालको मध्यावधि निर्वाचनमा म्यादी प्रहरी भएर खटिनुभएका खड्का यस पटक निर्वाचन प्रहरीका रूपमा खटिनुभयो । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन
पाएको छैटौँ पटकको जिम्मेवारी गौरवपूर्ण रहेको खड्का बताउनुहुन्छ । खड्का भन्नुहुन्छ, “२०५१ सालको मध्यावधि निर्वाचनपछिका छ वटा निर्वाचनमा कर्तव्यनिष्ठ भएर खटिन पाउँदा गर्व लागेको छ ।
विशेष परिस्थितिमा जिम्मेवार नागरिकका रूपमा राष्ट्रसेवक बनेर कर्तव्य निर्वाह गर्न पाउँदा गौरव अनुभूति भएको छ ।” वैदेशिक रोजगारीको सिलसिलामा भारत, साउदी अरब, कतार पुग्नुभएका खड्का रुकुमपश्चिमस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्ममातहत रही विसं २०५१ को निर्वाचनमा सानीभेरी–१ को चाइना बगरमा खटिनुभएको थियो ।
त्यसबेलाको निर्वाचन सुरक्षा स्मरण गर्दै खड्काले भन्नुभयो, “त्यो बेला सञ्चार, यातायात सुविधा र अहिले जस्तो सचेत नागरिक नहुँदा सुरक्षा अवस्थामा बढी नै चुनौती हुन्थ्यो । ढुङ्गामुढा, नाराबाजी र होहल्ला हुँदा पनि भिडलाई सम्झाइबुझाइ शान्तपूर्वक मतदान सम्पन्न गरिन्थ्यो । तर अहिले सेवा, सुविधा, सिकाइ र जिम्मेवारीका हिसाबले पहिलेभन्दा अहिलेका निर्वाचनमा धेरै फरक भइसकेको छ ।”
विसं २०५२ सालमा म्यादी प्रहरी हुँदा तीन हजार रुपियाँ तलब पाएको बताउँदै उहाँले यस पटक निर्वाचन प्रहरी बन्दा तालिम, अनुशासन, शैली र विषयवस्तुले आफूलाई थप जिम्मेवार बनाएको अनुभव सुनाउनुभयो । दुई छोरी, एक छोरा र श्रीमतीको लालनपालन तथा घरखर्च र राष्ट्रिय दायित्व निर्वाहका लागि निर्वाचन प्रहरी रोजेको खड्काले बताउनुभयो ।