शशिधर पराजुली
विराटनगर, चैत ३ गते । खाना पकाउने ग्यासको अभाव हुन सक्ने त्रासका कारण उद्योगले पर्याप्त ग्यास पठाए पनि बजारमा अभाव देखिएको छ । सहज रूपमा ग्यास नपाएका कारण खाली सिलिन्डर बोकेर पसल पसल डुल्नेहरू अझै सडकमा देखिने गरेका छन् ।
बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरले उपलब्ध गराएको पछिल्लो १५ दिनको तथ्याङ्क अनुसार पनि बजारमा आवश्यकता अनुसार ग्यास उपलब्ध भइरहेको पाइएको छ ।
कोशी प्रदेशमा रहेका ग्यास बोटलिङ उद्योगले अभावको अवस्था आउन नदिन विगतमा भन्दा बढी पर्चेज डेलिभरी अर्डर (पिडिओ) लिइरहेका छन् भने दैनिक १८ देखि २० बुलेट ग्यास भारतबाट कोशी प्रदेशमा आइरहेको निगम कोशी प्रादेशिक कार्यालयका प्रबन्धक पुष्कर कार्कीले जानकारी दिनुभयो । उहाँले बजारमा ग्यासको अभाव नभएको तर सर्वसाधारणलाई भने अभाव हुन सक्ने त्रास भएका कारण थोरै समस्या आएको बताउनुभयो । अहिले आधा सिलिन्डर बजारमा पठाउन थालेपछि करिब समाधान भइसकेको जानकारी दिनुभयो ।
निगमको कोशी प्रादेशिक कार्यालयको आधिकारिक तथ्याङ्क र बजारको आपूर्तिको तथ्याङ्क अनुसार पनि बजारमा ग्यासको अभाव हुने अवस्था देखिँदैन । उपभोक्ताले भने सहज रूपमा ग्यास नपाएको बताइरहेका छन् ।
निगमले फागुन १३ देखि फागुन २८ सम्मको १५ दिनको अवधिमा यहाँका पाँच वटा मुख्य बोटलिङ उद्योगलाई कुल २१७ बुलेट ग्यास आयातका लागि अनुमतिपत्र अर्थात् पिडिओ जारी गरेको छ । यसरी अनुमति दिइएकामध्ये एक सय बुलेटभन्दा बढी ग्यास उद्योगले आयात गरी बिक्रीको प्रक्रियामा ल्याइसकेका छन् ।
निगमले माग अनुसारको पिडिओ जारी गरिरहेको र भारतबाट हुने आयातमा पनि कुनै कटौती नभएकाले बजारमा अभाव हुने कुनै कारण नै नभएको प्रादेशिक कार्यालयका प्रबन्धक कार्कीले जानकारी दिनुभयो ।
यस अवधिमा मोरङको कोशी ग्यास उद्योगले ८९ वटा पिडिओ लिएको छ । जसमध्ये ३६ बुलेट ग्यास प्राप्त भइसकेको र अरू आउने क्रममा रहेको निगमले जनाएको छ । यसै गरी प्रिमा ग्यास उद्योगले ५३ बुलेटको पिडिओ लिएकोमा २० बुलेट आइसकेका छन् । अन्य उद्योगले पनि पर्याप्त पिडिओ खरिद गरेको र भारतबाट पनि विगतको तुलनामै ग्यास उपलब्ध भइरहेकाले कुनै समस्या नभएको निगमले जनाएको छ ।
निगमले उपलब्ध गराएको पछिल्लो पाँच दिनको दैनिक बिक्री विवरण अनुसार चैत १ गते १९९.४१ मेट्रिक टन ग्यास बजारमा पठाइएको छ भने त्यसको अघिल्लो दिन फागुन ३० गते ३५५ मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति भएको देखिन्छ । फागुन २७ देखि चैत १ सम्मको अवधिमा मात्रै विभिन्न उद्योगबाट कुल ६० बुलेट ग्यास बजारमा आपूर्ति भएको छ ।
एउटा बुलेटमा एक हजार २५० सिलिन्डर ग्यास हुन्छ । अहिले आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय भएकाले एउटा बुलेटबाट दुई हजार पाँच सय सिलिन्डर ग्यास उपभोक्तासमक्ष पुगिरहेका कारण अभाव नहुने उद्योगी नवीन रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्तामा ग्यास अभाव हुन लागेको हल्ला फैलिएका कारण घरमा सिलिन्डर थुपार्ने प्रवृत्ति बढेकाले बजारमा ग्यासको अभाव जस्तो देखिएको हो । एउटा सिलिन्डरले पुग्ने ठाउँमा डरले दुई/तीन वटा सिलिन्डर होल्ड गर्ने मानवीय स्वभावले गर्दा बजारको वितरण प्रणालीमा चाप परेको देखिन्छ ।”
यो समस्या एक साताभित्र निकै समाधान भइसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अभाव नहोस् भनेर उद्योगीले पिडिओको सङ्ख्या पनि केही बढाएको र त्यसमा उद्योगीको लगानीसमेत बढेको छ । एक बुलेट ग्यास खरिद गर्न उद्योगीले झन्डै २३ लाख रुपियाँ लगानी गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयले ग्यास अभाव नहुने र निगमको विराटनगर डिपोमा पेट्रोल र डिजेलको मौज्दात पनि ८५ प्रतिशत रहेका कारण अन्य इन्धनको अभाव नहुने भन्दै उपभोक्तालाई विश्वस्त रहन आग्रह गरेको छ । प्रबन्धक कार्कीले भारतीय पक्षबाट ग्यास आपूर्तिमा कुनै रोकतोक नभएको र नियमित लोड भइरहेकाले उपभोक्ता आत्तिएर सञ्चय गर्नेतिर नलाग्ने हो भने समस्या तुरुन्तै हट्ने अवस्था रहेको बताउनुभयो ।