काठमाडौँ, पुस ११ गते । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ ।
यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु भएको यो राजमार्ग हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ७२.९६ प्रतिशत र वित्तीय प्रगति ७८.२४ प्रतिशत पुगेको उक्त राजमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजमार्गको कुल लम्बाइमध्ये आयोजनाबाट ९४८ किलोमिटर, अन्य सडक निकायबाट ४६२ किलोमिटर गरी एक हजार ४१० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने अहिले ३५३ किलोमिटर सडक निर्माणाधीन छ ।”उहाँका अनुसार यस राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०२ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन् । त्यसै गरी अहिलेसम्म ११६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ ।
आयोजना प्रमुख नेपालीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा अहिलेसम्म ७.५ किलोमिटर सडक कालोपत्रे भएको र एक अर्ब २१ करोड रुपियाँ खर्च भइसकेको छ । यो आयोजनाले चालु आव २०८०/८१ मा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने, १८ वटा पुल निर्माण गर्ने र तीन अर्ब ८६ करोड ९२ लाख रुपियाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विक/सांस्कृतिक/धार्मिक महत्त्वका मठमन्दिर, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापर्बाही मुख्य समस्या रहेको आयोजना प्रमुख नेपालीले बताउनुभयो ।
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो । मन्त्रीपरिषद्को २०६५ फागुन २६ गतेको निर्णयबाट यस राजमार्गको रेखाङ्कन स्वीकृत भएको थियो ।
मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक, सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।
यस आयोजनालाई आव २०६७/६८ देखि दुई खण्डमा विभाजन गरी मध्यपहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्यपहाडी पश्चिम खण्ड (करिब एक हजार १५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकोमा आव २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालय (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट यस राजमार्गको निर्माण हुँदै आएको छ ।
यो राजमार्ग एउटा रूपान्तरणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आव २०६९/७० देखि आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ । यस राजमार्गको रेखाङ्कनभित्र पर्ने विभिन्न जिल्लामा १० वटा आधुनिक सहर विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसर सिर्जना हुने र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।