मानसिक स्वास्थ्यमा ‘ओब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसिडी) एउटा जटिल मानसिक रोग हो । समाजको विकासक्रम सँगसँगै यसलाई बुझ्ने र यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा विभिन्न प्रयास भएका छन् । मानव समाजको सुरुवाती चरणमा यसलाई वैज्ञानिक तथा मनोवैज्ञानिक हिसाबले नबुझे पनि यसको समकक्षी अवधारणा विकसित भएको पाइन्छ । त्यसैले यो आलोकले प्राचीन हिम्वत् खण्ड, ग्रिस र रोमको ओसिडीप्रतिको बुझाइलाई चर्चा गरिँदै छ ।
प्राचीन हिम्वत् खण्डमा आयुर्वेदिक दृष्टिकोणले पहिचान गरेको ‘उन्माद’ को समकक्षी ओसिडी हो । उन्मादका सन्दर्भमा ओसिडीको मुख्य कारण वात दोषको असन्तुलन हो । ओसिडी र त्रिदोष सम्बन्ध वात दोष वा नर्वस सिस्टम असन्तुलन एउटै सिक्काका पाटा हुन् । अत्यधिक चिन्ता, दोहोरिने सोच, भय, नकारात्मक विचार, हाइपरएक्टिभिटी, आलस्य, मानसिक भारीपन, मानसिक जडता जुन ओसिडीका बिरामीमा पनि देखा पर्छन् ।
आँखामा असहजता अनिद्रा, आँखा सुक्खा हुने समस्या र भोक नलाग्नु वा खानपानमा रुचि नहुनु तथा ध्यान केन्द्रित गर्न गाह्रो हुनु आदि ओसिडीका प्रमुख र प्रारम्भिक लक्षण हुन् । यसले आधुनिक मनोविज्ञानसँग गहिरो सम्बन्ध राख्छ । आयुर्वेदिक दृष्टिकोण र आधुनिक चिकित्सा दुवैले समकक्षी रूपमा ओसिडीलाई सम्बोधन गरेको छ । सही ज्ञान र विवेकको अपमान वा उल्लङ्घन पनि सबै रोगको मूल कारण हो । मनले उचित र अनुचित कुरा सही रूपमा धारण गर्न नसक्नु, उल्टो सोच्नु र अनुचित काममा मनलाई प्रवृत्त गर्नु – यी तीन कुरा प्रज्ञापराध वा बुद्धिको दोष हुन् । ओसिडीमा व्यक्ति मनले थाहा पाउँछ कि उसले गरेको व्यवहार वा सोच अनावश्यक हो तर त्यसलाई रोक्न सक्दैन । यो अवस्था प्रज्ञापराधजन्य मानसिक रोगभित्र पर्न जान्छ । बारम्बार गलत सोच वा डरले व्यक्ति ग्रस्त हुनुलाई आयुर्वेदले बुद्धिको भ्रम वा प्रज्ञापराध भनी बुझाउँछ । यहाँ कसी कुरो शारीरिक मात्र होइन, मानसिक रोगहरूको जड प्रज्ञापराधलाई मानिएको छ । जब मानिसले सही ज्ञान, नैतिकता र सदाचारलाई त्याग गर्छ, तब मानसिक रोगहरू जन्मिन्छन् ।
वैदिक र धार्मिक ग्रन्थमा मानसिक रोग वा ओसिडीलाई इच्छाको वशीभूत नहुनु, प्रज्ञाको ह्रास, गुणहरूको असन्तुलन र इन्द्रिय विषयमा अत्यधिक आशक्ति जस्ता मनोवैज्ञानिक कारकहरूसँग जोडिएको छ । “मनःप्रसादः स्मृतिर्मेधा धृतिर्मतिर्न चाल्यते । बुद्धिः प्रज्ञा धृतिः स्मृतिः स्वस्थस्यैता मनोगताः।।” वा मनको प्रसन्नता, स्मरणशक्ति, बुद्धि, धैर्य, मत–विचारको स्थिरता, प्रज्ञा–ज्ञान, र स्मरणशक्ति सबै स्वस्थ व्यक्तिका मानसिक अवस्थाका लक्षण हुन् । स्वस्थ व्यक्तिको मन प्रसन्न हुन्छ । उसको स्मरणशक्ति तीव्र हुन्छ । बुद्धि स्पष्ट हुन्छ । धैर्य र विचार स्थिर हुन्छन् । यी सबै मानसिक स्वास्थ्यका आधार हुन् । जसका भरमा व्यक्तिले सन्तुलित र सुखी जीवन बिताउँछ ।
निःसन्देह, मनका दोषले मनको विकृति ल्याउँछन् । अनि यी सबै सुख र दुःखका कारण हुन् । अर्थात् “रजस्तमश्च ये दोषा मनसो विकृतिं गताः । ते सर्वे सुखदुःखानां हेतवः स्युर्मनोगताः ।।” रजस् (उत्तेजना) र तमस् (अज्ञानता वा निराशा) जस्ता मनका दोषहरूले मानसिक विकृति र दुःख उत्पन्न गर्छ । यही मानिसको सुख र दुःखको अनुभव गराउने कारण हो । यसले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ र व्यक्तिलाई असन्तुलित बनाउँछ । यता स्वस्थ मन प्रसन्न, स्थिर र स्पष्ट हुनु पर्छ ।
मनको स्वाभाविक गुण नष्ट हुनु नै मानसिक विकार हो । त्यस्तो बेला स्त्यान (जडता) र मोह (बुद्धिको भ्रम) उत्पन्न हुन्छ । सìवयुक्त मानिसलाई मात्र आत्मज्ञान (आफूलाई बुझ्ने शक्ति) प्राप्त हुन्छ । यसले मानसिक सन्तुलन र असन्तुलनको आधारभूत दृष्टिकोण प्रस्तुत गर्छ । जब मनमा असन्तुलन उत्पन्न हुन्छ, तब व्यक्ति निरन्तर दोहो¥याइरहने सोच, डर वा चिन्ताले ग्रस्त हुन्छ । आयुर्वेद अनुसार सìव कमजोर हुँदा मानसिक विकार जन्मिन्छ, जसमा ओसिडी जस्ता विकार पनि पर्छ । यसमा व्यक्तिले आफ्नै सोचलाई नियन्त्रण गर्न सक्दैन, जुन ओसिडीको प्रमुख लक्षण हो ।
प्राचीन ग्रिक चिकित्सकले ‘ह्युमर थ्योरी’ का चार प्रकारका द्रव्य (रगत, कफ, पहेँलो पित्त र कालो पित्त) को असन्तुलन नै मानसिक तथा शारीरिक रोगको कारण हो भन्ने बुझाउने प्रयास गरे । जस अनुसार शरीरमा रहेको रगत (दयियम), पहेँलो पित्त, कालो पित्त र कफको असन्तुलनले मानसिक तथा शारीरिक रोगहरू निम्त्याउने विश्वास गरिन्थ्यो । यस सिद्धान्त अनुसार कालो पित्त धेरै भएमा मानिस चिन्ताग्रस्त, डराउने, गहिरो सोच्ने र निरन्तर शङ्कालु हुने गर्छ । यो ओसिडीका लक्षण हो । कालो पित्तको असन्तुलनको सङ्केत र आधुनिक विज्ञानले पहिचान गरेका ओसिडीका लक्षण समान छन् ।
पहेँलो पित्त बढी वा असन्तुलन भएमा मानिस अत्यधिक नियन्त्रण चाहने, नियममा बस्ने र कठोर अनुशासनप्रिय हुने गर्छ । ओसिडी भएका व्यक्ति आफ्ना सरसामान वस्तुलाई सधैँ एकैरूपमा राख्न चाहने, बारम्बार हात धुने वा कुनै गतिविधि एक निश्चित तरिकाले मात्र गर्न चाहने प्रवृत्ति वा पूर्णता खोज्ने स्वभावका हुन्छन् । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्स (इसापूर्व ४६०–३७०) ले दोहोरिने विचार (अबसेसन्स) वा अनावश्यक व्यवहार (कम्पलसन्स) देखाउने व्यक्तिहरूलाई ‘मेलान्कोलिया’ भने । हिपोक्रेट्सका अनुसार मेलान्कोलिया कालो पित्तको अधिकता वा असन्तुलनका परिणाम हो, जसले मानिसलाई अत्यधिक निराश, भयभीत र चिन्ताग्रस्त बनाउँछ । हिप्पोक्रेट्सले आफ्नो एफोरिज्ममा ‘डर र निराशा’ लामो समयसम्म रहनुलाई उदासीनताको लक्षण पनि भनेका छन् ।
ओसिडी र उदासीन अवसाद (मेलान्कोलिक डिप्रेसन) परस्परमा अन्तर्निहित र सहरोग पनि हुन् । कतिपय बिरामीमा दुवै रोगका लक्षण देखा पर्छन् । ओसिडीको बिरामीले आफ्नो हातमा कीटाणु छ भन्ने चिन्ता वा सोचका कारण बारम्बार हात धुने बानी देखा पर्न सक्छ । उता हात धुन नपाउँदा निराशा हुने र नियमित गतिविधिमा रुचि गुमाउन सक्छ । यो उदासीन अवसादको अवस्था हो । ओसिडीमा जाँच गर्ने बाध्यता हुन सक्छ । घरबाट फुत्त बाहिर निक्लिँदा घरको ढोकामा चाबी लगाइन कि भन्ने चिन्ता, सोच वा डर हुन सक्छ तर समय अभावको कारण फर्किएर जाँच गर्न सकिएन भने निराशाको भावना उत्पन्न वा महसुस गर्नु उदासीन अवसादको लक्षण हो ।
प्राचीन ग्रिक चिकित्साले भन्दा बढी मानसिक स्वास्थ्यको सवाललाई प्राचीन रोमको चिकित्सा प्रणालीले अवधारणीकरण र विस्तृतीकरण गरेको पाइन्छ । साथै रोमका चिकित्सकले ग्रिक चिकित्सा प्रणालीलाई पनि पछ्याएका थिए । प्राचीन रोममा अत्यधिक धार्मिकता, शुद्धताको चिन्ता वा अनावश्यक अनुष्ठानहरूमा लिप्त हुने व्यवहारलाई ‘अति धार्मिक उन्माद’ (सुपरस्टिशियस मैनिया) वा ‘नैतिक पागलपन’ को रूपमा लिइन्थ्यो । दार्शनिक सिसरोले अत्यधिक डर, शङ्का र आवेगलाई ‘मानसिक अशान्ति’ भनेका थिए । त्यो समय यदि कुनै व्यक्ति अत्यधिक शुद्धता वा नियम पालन गर्नुपर्ने बाध्यतामा रहन्थ्यो भने उसलाई रोगी होइन बरु धार्मिक वा सामाजिक नैतिकताले ग्रसित भनेर बुझिन्थ्यो । आजको स्वास्थ्य विज्ञानले यसलाई ओसिडीको लक्षण भनेको छ ।
शास्त्रीय ग्रिक चिकित्सक हिप्पोक्रेट्सको मानसिक विकारको सिद्धान्तलाई रोमन चिकित्सक ग्यालेन (सन् १२९–२१६) ले व्यापक विस्तार गर्दै मानसिक विकारहरूको वर्गीकरणमा महìवपूर्ण योगदान दिए । उनले मानिसको व्यक्तित्वलाई चार स्वभावमा विभाजन गरे । पहिलो सङ्गुइन अर्थात् ऊर्जावान्–उत्साही, दोस्रो कोलेरिक वा आवेगशील–जोसिलो, तेस्रो फ्लेजमेटिक तथा शान्त–स्थिर र चौथौ मेलान्कोलिक चिन्ताग्रस्त–संवेदनशील ।
ओसिडीसँग सम्बन्धित लक्षण मेलान्कोलिक स्वभाव भएका व्यक्तिहरूमा देखिन्थे । मेलान्कोलिकका स्वभाव ओसिडी भएका बिरामीमा पनि देखिन सक्छन् । ओसिडी भएका मानिसले दैनिक जीवनमा खुसी र सन्तुष्टि पाउन गाह्रो हुन्छ । नकारात्मक भावनाहरूले उनीहरूको जीवनलाई सीमित गर्न सक्छ । जसमा अत्यधिक चिन्ता, डर, नकारात्मक सोच वा अनावश्यक दोहोरिने व्यवहार समावेश हुन्थे । गालेनले यस्तो व्यवहारको मुल कारण मानसिक तथा शारीरिक असन्तुलनलाई माने र उनले मस्तिष्क, स्नायु प्रणाली, र आत्माबिचको जटिल सम्बन्धबारे प्रकाश पारे । गालेनले मानसिक रोगहरूलाई मस्तिष्क र स्नायु प्रणालीसँग सम्बन्धित मानेर ओसिडीसँग मिल्दोजुल्दो लक्षण देखाउने व्यक्तिलाई ‘आवश्यकभन्दा बढी चिन्ता लिनेहरू’ भनेर व्याख्या गरेका थिए ।
समग्रमा, प्राचीन हिम्वत् खण्ड, ग्र्रिस र रोमको प्राचीन चिकित्सा विज्ञानमा ओसिडीकोे आधुनिक परिभाषा र अर्थ समावेश थिएन । वेदिक–आयुर्वेदिक ग्रन्थहरू, हिपोक्रेट्स वा गालेनले प्रत्यक्ष रूपमा ओसिडीलाई परिभाषित पनि गरेनन् । मेलानकोलिया, अति धार्मिकता वा नैतिक उन्मादका साथमा देखाइएको अत्यधिक चिन्ताका लक्षणहरू नै आजको मानसिक स्वास्थ्य विज्ञानमा ओसिडी हो । यसरी प्राचीन चिकित्सा विज्ञानले ओसिडीका आधारभूत लक्षणहरूको पहिचान गरेकोे थियो ।