ज्ञानु पंगेनी
मध्यविन्दु, पुस ९ गते । नवलपुरको कावासोतीका एक जना किसानले मकै खेती जोगाउन आफ्नैखालको रणनीति लगाउनुभएको छ । मकै खेती सुगा र चराचुरुङ्गीले खाएर नोक्सान गरेपछि उहाँले घरायसी सामग्रीको जोगाड गरी फसल जोगाउन सफल हुनुभएको हो । किसान श्यामप्रसाद सुवेदीले तीन कठ्ठा क्षेत्रफलमा लगाएको मकै खेतीमा अहिले घोगामा दाना लागेको छ ।
दाना लागेको थाहा पाउनेबित्तिकै चराचुरुङ्गीले खाइदिने गरेपछि हैरान पर्नुभएका किसान सुवेदीले आफैँले जोगाड गरेर घोगा लागेको बोटमा कागज, प्लास्टिक, फाइबर झोलालगायतले छोप्नुभएको छ ।
प्लास्टिक र फाइबर झोलालाई खासै केही नगरी घोप्टो पारेर छोप्नुभएको छ । कागजलाई भने केही मिहिनेत लागेको उहाँले बताउनुभयो । कापीको पन्नालाई कोनजस्तै बनाएर उहाँले मकैको घोगालाई छोप्नुभएको छ । त्यत्तिकै बटारेर छोप्दा फुस्किएपछि, उहाँले कोन बनाउन स्टिजको प्रयोग गर्नुभएको छ ।