गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ९ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले गोरखापत्र संस्थानसँग आगामी निर्वाचन, सञ्चार क्षेत्रको सुशासन, सञ्चारकर्मीको दक्षता अभिवृद्धि तथा डिजिटल आर्काइभिङलगायत विषयमा सहकार्य गर्न सकिने बताउनुभएको छ ।
उहाँले मङ्गलबार गोरखापत्र संस्थानका विभिन्न प्रकाशनको अनुगमन गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
प्रेस काउन्सिलले सञ्चार क्षेत्रका लागि नियमनभन्दा पनि सहजीकरण गर्ने जनाउँदै अध्यक्ष आचार्यले १२५ वर्ष पुरानो भए पनि गोरखापत्र संस्थानले युवा नेतृत्व पाएकाले सहकार्य गर्न सहज भएको बताउनुभयो । उहाँले गोरखापत्र प्रकाशनको १२५औँ वर्ष मनाइरहेको सन्दर्भमा गोरखापत्र प्रकाशन हुनुभन्दा अगाडि नै आचारसंहिता जस्तै ‘सनद’ जारी भएको कुरा पहिलो पटक सुनेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।
नेपालको पहिलो आचारसंहिता ‘सनद’ : महाप्रबन्धक ऐरी
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले आचारसंहिता उल्लङ्घन नगर्ने नीति गोरखापत्र संस्थानको रहेको स्पष्ट पार्दै नेपालको पहिलो आचारसंहिता ‘सनद’ लाई प्राथमिकतामा राख्न प्रेस काउन्सिलसँग आग्रह गर्नुभयो ।
वि.सं. १९५८ वैशाख २४ गतेबाट गोरखापत्रको प्रकाशन सुरु भए पनि गोरखापत्रमा के प्रकाशन गर्ने र के नगर्ने भन्ने विषयमा वि.सं. १९५८ वैशाख ११ गते नै ‘सनद’ जारी गरिएको उहाँले बताउनुभयो । आचारसंहिताको आधारबिन्दु नै ‘सनद’ भएकाले काउन्सिलले यसको सम्मान गर्दै आचारसंहिता बनाउनुपर्ने सुझाव महाप्रबन्धक ऐरीले दिनुभयो ।
गोरखापत्र संस्थानका प्रकाशनको आर्काइभ गर्ने कार्य निरन्तर जारी रहेको जानकारी दिँदै महाप्रबन्धक ऐरीले ‘गोरखापत्र एकेडेमी’ स्थापना भई पुस ३ गते राष्ट्रियस्तरको ‘गोरखापत्र डिस्कोर्स’ सञ्चालन गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा सरकार र निजी क्षेत्र एउटै मञ्चमा आएर मुलुकको अर्थतन्त्रको उत्थानबारे बहस भएको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य गोरखापत्र संस्थानको अत्याधुनिक डिजिटल आर्काइभ कक्षको अवलोकन गर्नुहुँदै ।
प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यसहितको टोलीको स्वागत गर्दै गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले क्षणिक र सनसनीपूर्ण समाचार बनाउने अभ्यास गोरखापत्रमा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले गोरखापत्र र प्रेस काउन्सिल नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य हुन सक्ने उल्लेख गर्दै गोरखापत्रले ४६ वटा राष्ट्रभाषामा सामग्री प्रकाशन गरी राष्ट्रिय एकतालाई अझ बलियो बनाउँदै आएको बताउनुभयो । उहाँले नेपालको पहिलो अंग्रेजी भाषाको ब्रडसिट दैनिक ‘द राइजिङ नेपाल’ ६१ वर्षमा प्रवेश गरेको, मधुपर्क, युवामञ्च, मुना मासिकका साथै गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेली अनलाइन सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले गोरखापत्र वर्तमान र भविष्यको नेपाली पत्रकारिताको मानक भएको र गोरखापत्र हेर्दा भाषा, भाषी तथा नेपालको भूगोल झल्कने बताउनुभयो ।
पत्रकारितामा गोरखापत्रले अभिभावकको भूमिका खेलिरहेको उल्लेख गर्दै उहाँले प्रेस काउन्सिल पत्र काट्ने अड्डा मात्र नभई मिडियाका समस्या समाधानका लागि पहल गर्ने निकाय भएको स्पष्ट पार्नुभयो ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले पछिल्लो समय गोरखापत्र संस्थानका छापा तथा अनलाइन संस्करणमा प्रकाशित सामग्रीका विषयमा आचारसंहिता उल्लङ्घन भएको भनी कुनै उजुरी नपरेको जानकारी दिनुभयो ।
गोरखापत्रले ‘एकेडेमी’ स्थापना गरी ऐतिहासिक काम सुरु गरेकोमा खुसी व्यक्त गर्दै उहाँले पत्रकारको क्षमता अभिवृद्धिका लागि गोरखापत्र एकेडेमीसँग सहकार्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति प्रदान गर्दै अध्यक्ष डा. आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।