भोजपुर, कात्तिक १५ गते । निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
सडक अवरुद्ध हुँदा सुत्केरी, गर्भवती, आकस्मिक बिरामी र विपद्मा परेकालाई आवतजावत गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । यातायात ठप्प भएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानी र बजार आपूर्तिसमेत प्रभावित बनेको छ ।
जिल्ला सदरमुकाम भोजपुरबाट उत्तरी क्षेत्रतर्फका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने भोजपुर–दिङ्ला खण्ड वर्षाले हिलाम्य भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।
त्यस्तै, दक्षिणी क्षेत्रका हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकातर्फका सडक अवरुद्ध हुँदा सहज यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिका तथा भोजपुर नगरपालिकाको केन्द्रका रूपमा रहेको मध्यपहाडी लोकमार्ग कालोपत्र भएकाले केही सहजता भएको स्थानीयले बताएका छन् ।
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने र सडक भाँसिने जोखिम रहेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । रासस