काठमाडौँ, कात्तिक २ गते । जेनजी समूहका नाममा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा नागरिकबाट उत्साहपूर्ण सहयोगको अपेक्षा गरिएको छ । स्थापना गरिएको करिब एक महिनाको अवधिमा कोषमा छ करोड नौ लाख रुपियाँ जम्मा भएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते सो कोषको स्थापना गरेको थियो ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टङ्कप्रसाद पाण्डेयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा बिहीबारसम्मको तथ्याङ्क अनुसार छ करोड नौ लाख रुपियाँ जम्मा भएको जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा सर्वसाधारण, व्यापारी र विभिन्न सङ्घ संस्थाबाट रकम जम्मा भएको देखिएको छ ।
“यसअघिका विपत् तथा महामारी र अहिलेको क्षतिबारे आमनागरिकमा फरक बुझाइ रहेकाले समेत कोषमा अपेक्षित कम रकम जम्मा भएको नहुन सक्छ । “यसैबिच परेको चाडपर्व तथा अन्य बिदाले समेत सहयोगमा असर परेको हुन सक्छ,” उहाँले भन्नुभयो, “त्यसै गरी कोषबारे प्रचारप्रसार गरिए पनि यसबारे आमजनतालाई बुझाउन नसकिएको पनि हुन सक्छ । तैपनि जति जम्मा हुन्छ त्यतिलाई नै राम्रो मान्नु प¥यो ।”
प्रवक्ता पाण्डेयले थप्नुभयो, “सरकारले पैसैका लागि भन्दा पनि पुनर्निर्माणमा सार्वजनिक सहभागिता होस्, सबैलाई अपनत्व महसुस होस् भन्ने उद्देश्यले यस कोषको स्थापना गरिएको हो ।”
सरकारद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेर ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ को ‘१९६०१००१०२०७०००४’ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ । उद्योग प्रतिष्ठानले कोषमा जम्मा गरेको रकम चालु आर्थिक वर्ष २०८२/८३ को करयोग्य आयबाट कट्टी गर्न पाउने सुविधासमेत दिइएको जनाइएको छ ।
छ अर्ब रुपियाँ खर्च हुने अनुमान
प्रदर्शनका क्रममा क्षतिग्रस्त भवनको सबै भवनको मर्मतका लागि साढे छ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको सहरी विकास तथा भवन विभागले जनाएको छ ।
विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार सो प्रदर्शनका क्रममा मुलुकभरि सङ्घीय सरकारी कार्यालयका ४४० वटा र राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार), संसद् भवन, प्रधानमन्त्रीको निवास, विभिन्न मन्त्रालय र मन्त्री निवासलगायतका ५५ वटा विशिष्ट भवन क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त ४४० वटा सङ्घीय सरकारी कार्यालयमध्ये ३० वटा भवनमा सामान्य क्षति, १३४ वटा पूर्ण क्षति र १७६ वटा भवनमा आंशिक क्षति भएका छन् ।