बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १५ गते । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ ।
गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिवार विहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आङ्शका गरिएका ब्याक्तिहरुको घर तथा भौतिक सम्पत्तिमा तोडफोड गर्न थालेपछि तनाव सिर्जना भएको हो ।
शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको केहिदिनपछि शव अर्कैतिर फेला परेको घटना सार्वजनिक हुन साथ स्थानीयहरु आक्रोशित भएकाछन् ।
घटनामा संलग्न रहेको आंशका गर्दै स्थानीय बहादुर शाहको घर आक्रोशित समूहले तोडफोडको प्रयास गरेको छ । उक्त घरलाई प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ । श्याम शाहको अटोमा आगजनी भएको छ । स्थानीय केहीलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काले घटनाको विषयमा सुक्ष्म अनुसन्धान गरिने र घटनामा संलग्न सबैलाई पक्राउ गरिने जनाउदै तोडफोडमा नउत्रन आग्रह गर्नु भएको छ । आरोपित र शङ्काश्पद सबैलाई पक्राउ गरेर अनुसन्धान गर्छौ, उहाँले भन्नुभयो ।
मृतकको घर आसपास र घटनामा संलग्न रहेका आङ्शका गरिएकाहरुको घरआसपासमा प्रहरी परिचालन भएको छ ।