काठमाडौँ, असोज २४ गते । असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा शुक्रबारबाट यातायात पुनः सञ्चालन हुँदै छ । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण भएसँगै यातायात सञ्चालन हुने भएको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशले राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेको र बिहीबार रातभरिमा काम सम्पन्न हुने बताउँदै शुक्रबारबाट यातायात सञ्चालनमा आउने जानकारी दिनुभयो । सडक डिभिजन भक्तपुर अन्तर्गत यस राजमार्गको पुनर्निर्माण भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना नेपालथोकसम्म क्षतिग्रस्त राजमार्गमा डाइभर्सन निर्माण गरिएको हो ।
उहाँले अगाडि थप्नुभयो, “अविरल वर्षाका कारण गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्ग बगाएपछि बनाइएको अस्थायी डाइभर्सन असोज १७ देखि १८ गते पुनः बगाएपछि सो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । अहिलेको बाढीपहिरोले गत सालको बाढीपहिरोपछि निर्माण गरिएको डाइभर्सन पूर्ण रूपमा कटान गरेको थियो । बाढीपहिरोले राजमार्गको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेँसी, घुमाउनेलगायतका स्थानलाई निकै जोखिमपूर्ण बनाइदिएको छ ।”
यो राजमार्गमा दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा दैनिक १५ हजार र अरू समय दैनिक आठदेखि १० हजारसम्म सवारीसाधान ओहोरदोहोर गर्छन् । बाढीपहिरोबाट अवरुद्ध भएपछि यो राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनले झन्डै दोब्बर तेब्बर दुरी तय गर्नुपर्ने बाध्यता थियो । २०७२ को विनाशकारी भूकम्पले समेत यो राजमार्गको केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो ।
असोज १७ र १८ गतेको अविरल वर्षाले बिपी राजमार्गका १६ स्थानका डाइभर्सन बगाएको थियो । सडक विभागका अनुसार बाढीले १६ स्थानका तीन हजार ४१० मिटर डाइभर्सन बगाएको थियो । गत वर्ष असोज १२ गतेको बाढीपहिरोले क्षतविक्षत बनाएको सो राजमार्गको १६ स्थानमा पाँच हजार तीन सय मिटरको डाइभर्सन बगाएको थियो । रोसी खोलामा आएको बाढीले गत वर्ष असोजमा जस्तै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिने गरी र पैदलसमेत हिँड्न नसक्ने गरी तहसनहस बनाइदिइएको थियो ।
क्षतिको कारण बढी भारका सवारीसाधन पनि
डिभिजन प्रमुख योगेशले यो राजमार्गलाई क्षतिग्रस्त बनाउनुमा बाढीपहिरोका साथै टिप्परलगायत मापदण्डभन्दा बढी भार भएका सवारीसाधनको समेत भूमिका रहेको बताउनुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाए पनि २५ टनसम्म गिटीबालुवा बोकेका टिपर सञ्चालन हुँदै आएका छन् ।
विसं २०७२ मा जापानी सहयोग नियोग (जाइका) द्वारा बिपी राजमार्ग जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्बको लागतमा निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण सुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।