बिकास अधिकारी
पश्चिम नवलपरासी, माघ २८ गते । अतिक्रमणमा परेको नवलपरासीको सुस्तामा कुनै सीमास्तम्भ छैन्, सीमास्तम्भ नभएकै कारण भारतले सुस्ताको कुल भुभागको एक तिहाइ भूमि अतिक्रमण गरिसकेको छ ।
बाँकी भूमिलाई विवादित जमिन भन्दै वर्षौदेखि जोतभोग गर्न दिएको छैन । जसलेगर्दा सुस्ताबासीको अधीनमा चार भाग भूमिको एक भाग मात्र रहेको छ । सिमास्तम्भ नहुँदा सिमलको रुखलाई सिमास्तम्भ मानेर भारत र नेपालतर्फको भूभाग छुट्याइएको छ ।
२०६० सालमा सिमासम्बन्धी विवाद भारतले उठाएपछि झन्डै पाँच वर्षपछि २०६५ सालमा नवलपरासीको तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल नेतृत्वको टोली र भारतीय अधिकारीबिच सहमतिमै सिमलको रुखलाई आधार मानेर नेपाल–भारत सिमा छुट्याइएको हो । सुस्ताको थारुटोल उत्तरपूर्व पर्ने ठुलो सिमलको रूखबाट दुवैतर्फ बाटोलाई आधार मानेर भारत र नेपालतर्फको भुभाग छुट्याइएको छ । सिमलको रुखलाई सिमास्तम्भ मान्दा सिमलको रुख पारीको भूमि भारतले कब्जा गरेको छ । भारतलाई नेपालले सहमतिमै आफ्नो भूमि हस्तान्तरण गरेको अर्थमा भारतीय पक्षले बुझेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो ।
तत्कालीन अवस्थामा भारतीय एसएसबीले पटक–पटक दुःख दिदैँ आएपछि सहमतिमै लालपुर्जासहितको भूमिलाई विवादित मानेर जोतभोग नगर्ने सर्तमा नेपालको सिमाभन्दा यतै रहेको सिमलको रुखलाई सीमास्तम्भ मानिएको प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले बताउनुभयो ।
सिमलको रुखदेखि भारततर्फ विवादित भन्दै छाडिएको भूमि सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँको हो, सो भूमिमा अहिले भारत बिहारका स्थानीयले जोतभोग गर्दैआएका छन् । तर आफ्नो हातमा लालपुर्जा भए पनि देशको नक्साभित्रकै यस्तो उब्जाउ भूमि जोतभोग गर्न नपाउनु विडम्बना भएको खाँले बताउनुभयो । खाँको सिमलको फेदमुनिबाट भारततर्फ २ बिघा जमिन रहेको छ । उब्जाउ जमिनमध्येको सो भूमिमा यसवर्ष पनि भारतीयले तोरी खेती गरेका छन् । उक्त जमिनको वास्तविक जग्गाधनी खाँलाई भने हेरेर बस्नु बाहेक अर्को विकल्प छैन । सुस्ता बचाउ अभियानकै जयसवालले रुखलाई सीमास्तम्भ मान्नु पर्ने यो कस्तो नियति हो भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।
तीनतिर भारतको बिहार र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टरमध्ये भारतले १४ हजार हेक्टर अतिक्रमण गरेर आफ्नो कब्जामा लिएको छ । १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल विवादित भन्दै जोतभोग गर्न दिएको छैन् । सुस्तावासीले जम्मा ७ हजार ५ सय हेक्टर क्षेत्रफलको भूमि मात्रै जोतभोग गर्दैआएका छन् ।