• २९ माघ २०८२, बिहिबार

बाजुरामा भोट भाषामा पढाइ सुरु

blog

भोट भाषा पढाई सुरु गर्दै आएको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाति आवासीय विद्यालय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, माघ २९ गते । बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९, डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाति आवासीय विद्यालयले भोट भाषामा पढाइ सुरु गरेको हो ।

सिद्धेश्वरीमा प्राय भोटे समुदायका बालबालिकाहरू पठनपाठन गर्ने गर्छन् । विद्यालयले उनीहरूलाई त्यही आवासमा राखेर पढाउने गरेको छ । पछिल्लो समय भोटभाषा लोप हुँदै गएको भन्दै विद्यालयले त्यसलाई जगेर्ना गर्ने गरी यतिबेला भोटभाषाको पढाइ सुरु गरेको विद्यालयले जनाएको छ । 

यहाँका सरकारी काम काजमा प्राय राष्ट्रिय भाषा बोल्ने गरेको भए पनि अघिपछि उनीहरूले भोटभाषामा नै बोलचाल गर्ने गर्छन् । भोटभाषा पढाउनका लागि विद्यालयले एक जना भोटभाषा अध्यन गरेको शिक्षक राखेर भोटभाषाको पढाइ गर्ने गरेको हो । 

२०७९ साल देखि यो विद्यालयले भोटभाषाको पढाइ सुरु गरेको हो । अहिले विद्यालयले कक्षा दुईसम्म भोट भाषाको किताब ल्याएर पढाइ गर्दै आएको छ । विद्यालयले यो भाषालाई अतिरिक्त क्रियाकपालमको रूपमा पढाउने गरेको छ । 

बिहान दस देखि चार बजे सम्म विद्यालयमा अरु अंग्रेजी र नेपाली भाषामा पढाइ हुन्छ भने बेलुकी पाँच बजेदेखि छ बजेसम्म भोटभाषाको किताब पढाइ हुने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा ललित जनजाति आवासीय विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय हो । यसमा प्राय जनजातिका बालबालिकाहरू पढ्ने गरेका छन् । ”

पुराना पुस्ताले बोल्दै आएको भोटभाषा अहिलेको नयाँ पुस्ताले बोल्न छोड्दै गएका छन् । विस्तारै यो भोटभाषा लोप हँदै गएकोले यसको जगर्नेनाका लागि यो विद्यलयले भोटभाषामा पढाइ सुरु गरेको प्राधानाध्यापक रावतले बताउनुभयो ।

हाम्रो बाबु बाजेले प्राय भोट भाषा बोल्ने र पढ्ने गरेका थिए । अहिले हाम्रो पुस्ताले प्राय यो भाषा बोल्नै छोडेकोले यो भाष लोप हुने डरले यती बेला हामीले विद्यालयमा भोटभाषामा पढाई सुरु गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिह गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरादेखि यो भाषा लोप हुँदै गएकोले यसलाई बचाउनका लागि अहिलेकको नयाँ पुस्तालाई यो भाषा सिकाउनु अनिवार्य रहेको छ । त्यसैले भोटभाषा लोप नहुने गरी हामी यो विद्यालयमा भोटभाषाको पढाइ गरेका छौं । ”

अहिले कक्षा दुइ सम्मको पढाइ हुन्छ । विस्तारै कक्षा दुइदेखि कक्षा पाँचसम्मको किताब ल्याएर पनि पढाउने तयारी रहेको गुरुङले बताउनुभयो । विद्यालयमा अहिले झण्डै एक सय बीस जना बालबालिकाहरू पढ्ने गरेका छन् । ती मध्ये ६३ जना विद्यालयमा बसेर पढ्ने गरेका छन् ।