• २६ माघ २०८२, सोमबार

मुलुककै पहिलो ‘फ्लाइओभर’

ट्राफिक व्यवस्थापन सहज हुने

blog

काठमाडौँ, माघ २६ गते । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । यो ‘फ्लाइओभर’ हुँदै दुई हजार ६६७ मिटर लम्बाइको नागढुङ्गा–सिस्नेखोला सुरुङमा पुग्न सकिन्छ । 

बलम्बु–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुस्थित ‘फ्लाइओभर’ निर्माण सम्पन्न भई सञ्चालनका लागि तयारी अवस्थामा रहेको आयोजना उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत नै यस ‘फ्लाइओभर’ को निर्माण गरिएको हो । 

उहाँका अनुसार ‘फ्लाइओभर’ मा कालोपत्रे सम्पन्न हुनुका साथै ट्राफिक लाइट, सडक लाइट, ट्राफिक चिह्न, डिभाइडर राख्नेलगायत सम्पूर्ण काम सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो, “अब यस ‘फ्लाइओभर’ मा सवारीसाधन गुड्न मात्र बाँकी छ । यो ‘फ्लाइओभर’ ले सुरुङमार्ग भएर काठमाडौँ बाहिरिने र भित्रिने सवारीसाधनलाई ट्राफिक व्यवस्थापनमा ठुलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।  यस ‘फ्लाइओभर’ को कुल लम्बाइ १८० मिटर र चौडाइ सात मिटर छ । पैदलयात्रीले ‘फ्लाइओभर’ प्रयोग गर्न पाउने छैनन् ।

राजमार्गबाट सुरुङमार्गतर्फ सवारीसाधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकाले यस ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्नु परेको बताउँदै आयोजना उपनिर्देशक पन्थीले भन्नुभयो, “यस ‘फ्लाइओभर’ ले राजमार्गबाट सुरुङमार्गको पहुँच मार्गमा ट्राफिक जाम कम गर्न मद्दत गर्ने छ । यसले मुख्य सडकको ट्राफिकलाई सहजै सुरुङतर्फ मोड्ने छ ।” 

‘फ्लाइओभर’ निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको थियो । ‘फ्लाइओभर’ को क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५० लाख रुपियाँका दरले मुआब्जा पाए । पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलसम्म पुग्न 

‘फ्लाइओभर’ निर्माण गरिएको हो । राजमार्गको बिचको दुई लेनबाट सो ‘फ्लाइओभर’ लाई जोडिने छ । ‘फ्लाइओभर’ सञ्चालनमा आएपछि बलम्बु क्षेत्रमा पृथ्वी राजमार्गको दुई लेन सो फ्लाइओभरका लागि नै प्रयोग गर्नुपर्ने हुन्छ ।

यो ‘फ्लाइओभर’ बाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड) मार्फत सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलमा पुग्न सकिन्छ । सुरुङमार्गको पश्चिमी पोर्टलमा निर्माण भइरहेको सडक दस्तुर उठाउने ‘टोल बुथ’ बाहेक आयोजनाको शत प्रतिशत काम सम्पन्न भइसकेको आयोजना उपनिर्देशक पन्थीले जानकारी दिनुभयो । जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेसन लिमिटेडले सो सुरुङमार्ग निर्माण गरिरहेको छ ।

आयोजना उपनिर्देशक पन्थीले सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक कम्पनीहरूले दिएको आवेदनको अहिले प्राविधिक मूल्याङ्कन सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुल १० वटा कम्पनीले आवेदन दिएका छन् । अहिले उनीहरूले दिएको आवेदनको प्राविधिक मूल्याङ्कन सुरु भएको छ । मूल्याङ्कनमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन सुरु गरिने छ ।” सेवाप्रदायक कम्पनी छनोट गर्न आयोजनाले गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र (इन्टरनेसनल कम्पिटिटिभ बिडिङ, आइसिबी) आह्वान गरेको थियो । आर्थिक मूल्याङ्कन गर्न १५ दिन लाग्छ । आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भई उत्तीर्ण भएका कम्पनीबारे दाबीविरोध गर्न सो कम्पनीको नामसहितको आशय सूचना निकाल्नु पर्छ । आशयको सूचना सात दिनको हुन्छ । सात दिनसम्म कुनै दाबीविरोध परेन भने सम्झौता गर्न सो कम्पनीलाई पत्राचार गरिन्छ । पत्राचार भएको १५ दिनभित्र कम्पनी आएर सम्झौता गर्नुपर्ने हुन्छ । आयोजना उपनिर्देशक पन्थीका अनुसार सम्झौता गरेको कम्पनीले जनशक्ति जुटाउन र तिनीहरूलाई आवश्यक तालिम दिन कम्तीमा एक महिनाको समय लाग्न सक्छ । त्यसपछि त्यो कम्पनीले सुरुङमार्ग सञ्चालनमा ल्याउँछ ।

उहाँका अनुसार सुरुङमार्ग सञ्चालन गर्न सबभन्दा बढी चीनका छ वटा सेवाप्रदायक कम्पनीले आवेदन दिएका छन् । भारतका तीन र टर्कीको एउटा कम्पनीले आवेदन दिएका छन् । बोलपत्रको सर्त अनुसार ती १० वटै कम्पनीले नेपाली कम्पनीसँग संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा आवेदन दिएका हुन् । कम्तीमा एउटा नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा आवेदन दिनुपर्ने बोलपत्रको अनिवार्य सर्त छ । छनोट भएको सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सो सुरुङमार्ग सञ्चालन गर्न पाउने छ ।