वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, वैशाख ३१ गते । प्राचीन हरिद्वार चतराधाममा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको अगुवाइमा श्रीहनुमान मन्दिरपरिसरमा आञ्जनेय पर्वत शैलीको गुफा निर्माण भइरहेको छ । चतराधामस्थित श्रीराम तारकब्रह्म पीठमा अवस्थित हनुमान मन्दिरपरिसरमा उक्त शैलीको गुफा निर्माण कार्य अघि बढाइएको हो ।
सुनसरीको वराहक्षेत्र–१ चतरामा रहेको हनुमान मन्दिरपरिसरमा भगवान् हनुमानको प्राकट्यस्थल मानिने आञ्जनेय पर्वतको शैलीमा गुफा निर्माण भइरहेको सेवापीठका सूचना अधिकारी आकाश शर्माले बताउनुभयो । उहाँका अनुसार गुफाको संरचना प्राचीन ऋषिमुनिहरूले साधना गर्ने तपोभूमिको झल्को दिने गरी डिजाइन गरिएको छ । निर्माणाधीन गुफा तयार भएपछि हनुमान मन्दिरमा अध्यात्म, कला र संस्कृतिको झल्को थप प्रस्ट रूपमा देखिने बताइएको छ ।
उहाँले भन्नुभयो, “आञ्जनेय पर्वत रामभक्त हनुमानको जन्मस्थल मानिन्छ । त्यसैले हनुमान मन्दिरपरिसरमा पर्वत शैलीको संरचना निर्माण गरिएको हो ।”
श्रीराम तारकब्रह्म पीठका पीठाधीश्वर अनन्त विभूषित जगद्गुरु महायोगी सिद्धबाबाको अवधारणा अनुसार परिसरलाई वैदिक ऊर्जा र भक्तिभावले ओतप्रोत बनाइने तारकब्रह्म पीठले जनाएको छ ।
मन्दिरपरिसरमा विशाल शिल्पकला, जलधारा र हरियालीको संयोजनले हनुमान मन्दिरलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ । गुफाको बाहिरी भागमा निर्माण गरिने झरना र कलात्मक आकृतिले रामभक्त श्रीहनुमानको अटल भक्ति, शक्ति र समर्पणलाई प्रतीकात्मक रूपमा उजागर गर्ने पीठले जनाएको छ । यसले धार्मिक पर्यटन प्रवर्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि महìवपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
श्रीहनुमान मन्दिरको निर्माणाधीन गुफा केवल पत्थर र संरचनाको संयोजन मात्र नभई श्रद्धा, विश्वास र सनातन संस्कृतिको जीवित प्रतीक हुने जगद्गुरु महायोगी सिद्धबाबा श्रीरामकृष्णाचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ प्रत्येक पाइला दिव्यतातर्फ उन्मुख हुने छ र प्रत्येक हृदयमा भक्ति जागृत हुने छ ।”
चतराधाम ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले धरतीको प्रथम धामका रूपमा महìवपूर्ण तीर्थस्थल मानिन्छ । आञ्जनेय पर्वत निर्माणसँगै चतराधामको गरिमा अझ बढ्ने बताइएको छ । पछिल्लो समय देश तथा विदेशबाट आउने भक्तजनका लागि चतराधाम प्रमुख आध्यात्मिक गन्तव्य बन्दै गएको छ । हनुमान मन्दिरमा दर्शन गर्नाले श्रद्धा, शान्ति, भक्ति र शक्ति प्राप्त हुने विश्वासका कारण भक्तजनको आकर्षण बढ्दो छ ।
चतराधामस्थित हनुमान मन्दिरमा आञ्जनेय पर्वत शैलीमा निर्माण हुने गुफाले यस क्षेत्रको धार्मिक महìव अझ बढाउने स्थानीय भविन राउत बताउनुहुन्छ । उहाँका अनुसार हनुमानको मूर्तिसँगै पर्वत शैलीमा बन्ने गुफाले मन्दिरलाई थप आकर्षक बनाउने छ । टाढाबाट समेत देख्न सकिने हनुमानको मूर्तिले चतराधामको शोभा बढाएको उहाँको भनाइ छ ।
धार्मिक स्थलका रूपमा परिचित चतरा क्षेत्रमा हनुमानको मूर्तिले थप धार्मिक तथा पर्यटकीय पहिचान विस्तार गरेको स्थानीय युवराज भट्टराई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चतराधाममा हनुमान मन्दिरको स्थापनाले धार्मिक उन्नयनमा महìवपूर्ण सहयोग पुगेको छ ।”
पौराणिक धर्मशास्त्र अनुसार पवित्र क्षेत्रका रूपमा वर्णन गरिएको हिमवत् खण्डको कौशिकी किनारमा रहेको प्रसिद्ध प्राचीन हरिद्वार चतराक्षेत्र देवताहरूको सहरका रूपमा परिचित बन्दै गएको भट्टराईको भनाइ छ । चतराधामआसपास वराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, रामधुनी, हलेसी, पाथीभरा र छिन्ताङलगायतका प्रसिद्ध धार्मिक स्थल रहेका छन् ।