अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ३१ गते । पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं. ३ का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ ।
प्रदेश तथा संघमा योजना माग्ने क्रममा इस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाइ छ । जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो ।
कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतलीबजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा नियमित कार्यालयको काम गरिरहेका बेला सब–इन्जिनियरको कार्यकक्षमै प्रवेश गरी कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ ।
नगरपालिकाले कर्मचारीको कार्यविवरणभन्दा बाहिरको विषयलाई लिएर घटना भएको जनाएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने नगरपालिकाले स्पष्ट पारेको छ ।
यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर पर्ने नगरपालिकाको भनाइ छ ।