प्रेमराज सिम्खडा
कालीकोट, माघ २९ गते । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले कालीकोटमा निर्वाचन प्रहरी (म्यादी) लक्षित अभ्यास प्रदर्शन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले सदरमुकाम मान्ममा रहेको प्रहरी गणको मैदानमा म्याग्दी प्रहरीलाई निर्वाचनलाई शान्त पार्न गरिने कामको डेमो देखाएर अभ्यास गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हेमबहादुर खत्रीले निर्वाचन प्रहरीलाई पनि सुरक्षा मापदण्डका बारेमा जानकारी दिने उद्देश्यले अभ्यास गरिएको बताउनुभयो । डिएसपी खत्रीले औपचारिक रूपमा संयुक्त अभ्यास केही दिन चल्ने बताउनुभयो ।
जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्को दिन हामी संयुक्त अभ्यास गराउँछौ, आज निर्वाचन प्रहरीलक्षित मात्र हो, प्रहरी प्रमुख खत्रीले सुनाउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख, निर्वाचन अधिकारी विश्वमङ्गल शर्माले सुरक्षा अभ्यासको काम सुरक्षा निकायको आयोजनामा निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको बताउनुभयो ।
उहाँले निर्वाचनमा मतहरू बदर हुन नदिनेदेखि निर्वाचनमा मतदान गर्न आउँदा साथ हुनुपर्ने कागजपत्रका विषयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि अनुगमनकर्तालाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिनुभयो ।