काठमाडौँ, माघ १५ गते । आसन्न प्रतिनिधि सभा निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यको बैठक बस्ने संसद् भवनको टुङ्गो लागेको छ । प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने सुनिश्चित भएको हो ।
संसद् बैठकनिम्ति प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् भवन जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण प्रयोग गर्न नसकिने अवस्थामा छ । सिंहदरबारपरिसरमा निर्माण भइरहेको संसद् भवनको काम कहिले सम्पन्न हुने भन्ने टुङ्गो थिएन ।
सहरी विकास तथा भवन विभागका महानिर्देशक रवीन्द्र बोहोराले आसन्न निर्वाचनबाट निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फागुन २१ गतेको चुनावबाट निर्वाचित भएर जो प्रतिनिधि सभा सदस्य आउनुहुन्छ, उहाँहरूको पहिलो बैठक त्यहीँ बस्ने गरी अहिले तयारी भइरहेको छ । चैतको पहिलो हप्तामा संसद्को पहिलो बैठक बस्ने भएकाले फागुनभित्र सम्पन्न तयारी पूरा हुन्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको हलको सम्पूर्ण तयारी सकिने गरी तीव्र गतिमा काम भइरहेका छन् ।”
सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले प्रतिनिधि सभाको बैठक बस्ने गरी संसद् भवन निर्माणका लागि दिनरात नभनी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फागुन मसान्तसम्म जसरी पनि संसद् भवन तयार गर्नै प¥यो । प्रतिनिधि सभाको बैठक त्यहीँ बस्नुको विकल्प छैन । त्यही भएर हामी दिनरात खटिरहेका छौँ । मुलुकको इज्जतको पनि कुरा छ ।”
श्रेष्ठका अनुसार अहिले त्यहाँ ३५० जनशक्ति कार्यरत छ । त्यसै गरी ५० जना जनशक्ति संसद् भवनको फर्निचर तथा इन्टेरियरका सामान निर्माण भइरहेका विभिन्न कारखानामा काम गरिरहेका छन् । यसअघि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सम्बद्ध मन्त्रालयका मन्त्रीले पटक पटक निर्माणाधीन संसद् भवन निरीक्षण गरी निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनी र सम्बद्ध निकायले कामलाई तीव्रता दिन सकेका थिएनन् ।
म्याद थपको माग
निर्देशक श्रेष्ठले ठेकेदार कम्पनीले फेरि म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कामलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ । दुई चरण (सिफ्ट) मा काम भइरहेको छ । अबको केही दिनपछि तीन चरणमा काम सुरु हुन्छ ।” निर्माणाधीन नयाँ संसद् भवनको ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको हो । निर्माण कम्पनीले अझै नौ महिनाको समयावधि मागसहित म्याद थपको माग गरेको छ । यसअघि थप गरिएको म्याद पुस १६ गते सकिइसकेको छ ।
मुख्य संरचनाको काम सम्पन्न
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रवक्ता रञ्जनकुमार दासले आयोजनाको मुख्य संरचना सम्पन्न भइसकेको बताउँदै निर्माण स्थलवरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, सेनेटेरीको काम, एचभिएसी, हिटिङ, भेन्टिलेसन, एयर कन्डिसनिङ, एमइपी (मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ) आन्तरिक सजावट, कन्फ्रेन्सिङलगायतका काम बाँकी रहेको जानकारी दिनुभयो । सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी आठ आना (८८,२७१ वर्गमिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ दी आर्ट’ को ढाँचामा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ ।
‘हाइटेक’ डिजाइन
भूकम्प, आगलागी जस्ता आपत्कालीन अवस्थालाई विशेष ध्यानमा राखी ‘नेसनल बिल्डिङ कोड, बिल्डिङ नियमावली र आयोजनाका मर्मलाई समेत आत्मसात् गरी निर्माणाधीन संसद् भवन डिजाइन गरिएको छ ।
काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने किसिमले डिजाइन गरिएको यो संसद् भवनपरिसरको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगट्ने छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहने छन् । यस भवनपरिसरको निर्माण ‘हाइटेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिको आधारमा भइरहेको छ । कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।