सचिन पोख्रेल
इटहरी, माघ २८ गते । निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय मोरङमा अवैध हतियारको कारोबार तथा प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा मोरङ प्रहरीले अवैध हातहतियार तथा सञ्चार उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ।
निर्वाचन नजिकिँदै गर्दा जिल्लामा शान्ति–सुरक्षा कायम राख्ने क्रममा विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले दुर्इ जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलबारी तथा प्रहरी चौकी गछियाको संयुक्त टोलीले सुन्दर हरैचा नगरपालिका –२ क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा खोजतलास सुरु गरेको थियो। सोक्रममा सुन्दर हरैचा –२ मा बसोबास गर्ने २८ वर्षीय सिलास लिम्बूको घरमा खानतलासी गर्दा अवैध हातहतियार तथा सञ्चार उपकरण फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार खोजतलासीका क्रममा ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, एक थान भरुवा बन्दुक र ‘बाउफ्याङ’ लेखिएको दुई थान ह्याण्डसेट बरामद गरिएको हो। अवैध रूपमा राखिएको हातहतियार तथा उपकरण बरामद गरिएपछि प्रहरीले तत्काल लिम्बूलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि प्रारम्भिक अनुसन्धानको क्रममा सुन्दर हरैचा नगरपालिका –३ मा बसोबास गर्ने २९ वर्षीय प्रेमबहादुर गुरुङसँग ती हतियार र उपकरण लिएको जानकारी पाएपछि प्रहरीले सोही सूचनाका आधारमा निज गुरुङलाई समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारी ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरू हातहतियार कसरी प्राप्त गरे, कुन उद्देश्यका लागि राखेका थिए ? अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
शान्ति–सुरक्षा विपरितका कुनै पनि गतिविधि सह्य नहुने बताउँदै प्रहरीले यस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रहसमेत गरेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँको भनाइ छ।