• १६ कात्तिक २०८२, आइतबार

एमाले सचिवालय बैठक

एघारौं राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय

blog

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु । तस्बिरः अध्यक्षको सचिवालय

काठमाडौँ, कात्तिक १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

एमालेको गत असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसअघि पार्टीको नवौं महाधिवेशन पनि काठमाडौँमा गरिएको थियो भने १० औँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिरमा चितवनमा गरिएको थियो ।

महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि हुने 

पार्टीको ११ औँ महाधिवेशनमा करिब दुई हजार १०० जना प्रतिनिधि सहभागी हुने बताइएको छ । आज बसेको सचिवालय बैठकले महाधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड बनाउँदै करिब दुई हजार १०० जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको उपमहासचिव प्रदीप जानकारी दिनुभयो । महाधिवेशनका लागि मङ्सिर १३ गते एकैदिन देशैभर प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका ३५४ जना, अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगका ३०, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट २५-२५ जना प्रतिनिधि हुनेछन् । यस्तै, महाधिवेशनका लागि करिब ९०० जना प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सहभागी हुनेछन् । 

विशेष जिल्लाबाट ४७, दलितबाट ८१, टे«ड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र पार्टीको केन्द्रीय कार्यालयबाट ३३ र २३ वटा जनसङ्गठनबाट १२७ जना महाधिवेशनमा प्रतिनिधि हुने पनि जनाइएको छ ।  

महाधिवेशनका लागि ६ लाख ६७ हजार ६३० जना पार्टी सदस्यबाट नै विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रतिनिधि चुनिएको विवरण मङ्सिर १५ गते साँझसम्म पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न अनुरोध गरिएको बताउनुभयो । 

मुख्यतः प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन हुनेछन् । एउटा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनौट हुनेछन् । त्यसबाहेक हरेक ८०० जना सदस्य सङ्ख्या बराबर थप एक जना प्रतिनिधि चयन हुनेछन् । यसरी चुनिनेमा महिला हुनेछन् ।  

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि एक तिहाइ महिला सुनिश्चित गरिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । यस्तै, हरेक ५०० जना दलित सदस्य सङ्ख्या बराबर एक जना दलित, आरक्षण क्षेत्रमा टे«ड युनियनबाट दुई जना खुलासहित सात जना प्रतिनिधि चयन हुने पनि उहाँले जानकारी दिनुभयो ।  

यस्तै, प्रत्येक जनसङ्गठनबाट दुई जना खुलासहित पाँच जना अनिवार्य हुनेछन् । महासङ्घको ढाँचामा रहेका जनसङ्गठबाट सात जना, हरेक ३२ वटा विभागबाट एक-एक जना प्रतिनिधि चयन हुनेछन् । प्रदेश कमिटीबाट तीन खुला र दुई जना महिला गरेर पाँच जना प्रतिनिधि चयन हुनेछन् । प्रवासमा प्रत्येक छ वटा प्रदेशस्तरका कमिटीबाट पाँच जनाका दरले प्रतिनिधि छनोट हुनेछन् । 

उपमहासचिव ज्ञवालीले ती प्रतिनिधिमा करिब पाँच प्रतिशत नबढ्ने गरी आवश्यकताअनुसार पार्टीले प्रतिनिधि मनोनयन गर्ने बताउनुभयो । 

लोकतन्त्र रक्षाका लागि जनपरिचालन

यसैगरी पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन र काठमाडौँमा मङ्सिर ६ गते जनसभा गर्ने निर्णय गरेको छ । यस्तै, कात्तिक २२ गते वडास्तरमा भेला, कात्तिक २५ गते पालिकास्तरीय जनप्रदर्शन, कात्तिक २९ गते जिल्लास्तरीय जनसभा गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । 

यस्तै, बैठकमा गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनमा प्रस्तुत गरिएका दस्ताबेजलाई सुझावसहित अन्तिम रूप दिने निर्णय गरेको छ । कात्तिक २० गतेसम्म प्रतिवेदनलाई अन्तिम रूप दिएर प्रकाशन गरिने जनाइएको छ । रासस