बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक १५ गते । एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।
गत आइतबारदेखि हराइरहेका शर्माको शव शनिबार बिहान झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिकको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले शङ्कास्पद दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ । बिहान पुल आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जनाइएको छ ।
दुर्गन्ध फैलिएको ठाँउ पहिचान गरेर खाल्डो खनेर हेर्दा कालो प्लाष्टिकमा शव कुहिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य दीपक पोखरेलका अनुसार शवको साथमा रहेको नागरिकताका कारण शर्माको पहिचान खुलेको छ । परिवारले सनाखत गरेको उहाँले उल्लेख गर्नुभयो ।
शर्माले चलाउँदै आएको बा १३ च ३८६४ नम्बरको कार मङ्गलबार झापाको मेचीनगर–१३ चारआली–भद्रपुर सडक नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो । हत्याराले फिल्मि शैलीमा अपहरण गरेर एकातिर सवारी साधन जलाएर अर्कातिर शव गाडेको देखिन्छ, प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार शव सडेको अवस्थामा रहेकाले नचिनिने अवस्थामा रहेको थियो । परिवारका सदस्य तथा आफन्तहरुले सनाखत गरेपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ । हत्याको विषयमा विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
हत्यामा संलग्न रहेको आङ्शकामा शाहको नजिक कै दुई जनालाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनुभयो । शर्माको हत्यामा संलग्न रहेको आङ्शकामा दुई जनालाई पक्राउ गरिएको छ, उहाँले भन्नुभयो । उनिहरुको पहिचान खुलाइएको छैन । अपहरणपछि शर्माको हत्या भएको भन्दै हत्यामा संलग्नको तत्काल पहिचान गरेर पक्राउ गरी सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् ।