• ३० वैशाख २०८१, आइतबार

प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १२ गते । नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा ८८ वर्षीय पूर्णानन्द शर्मा दाहालको निधन भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।

प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उहाँ पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बस्नु भएको थियो । शर्मा पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीमा समेत पर्नु भएका नेपाली कांग्रेसका स्थानीय नेता राजु न्यौपानेले बताउनुभयो ।

मुटु तथा श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँ विगत एक महिनादेखि नै थलिनु भएको जनाइएको छ । शर्माले प्रजातान्त्रिक आन्दोलनको विषयलाई समेटेर ‘त्यागको परिणाम’ नामको पुस्तक लेख्नु भएको थियो ।

दाहालको निधन भएको थाहा पाएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सोमबार बेलुका नै शर्मा निवासमा आएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्वी नेपालको एक अथक योद्धा र आफूहरूको आदर्श पुरुषलाई गुमाएको शर्माले बताउनुभयो । निष्ठावान् नेताको रूपमा उहाँको पहिचान थियो ।

यसैबिच नेपाली कांग्रेस पार्टी झापाले तीन दिन सम्म शोक मनाउने जनाइएको छ । स्व. दाहालको निधन प्रति दुःख व्यक्त गर्दै भोलि मङ्गलबार पार्टीको जिल्ला कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईले जानकारी दिनुभयो ।