काठमाडौँ, जेठ २ गते । २०८२ भदौ २४ गते आन्दोलनको क्रममा फरार रहेका २४ वर्षीय निशान तामाङ पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँमा सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार बिरुवास्थित रहेको बालुवाको डिपोमा बस्दै आएका तामाङ मिति २०७९ कात्तिक २८ गते दिउँसो ३ बजेको समयमा सात वर्षकी छोरीलाई चक्लेट दिन्छु भनी फकाइ बालयौन दुरुपयोग सम्बन्धी अपराधमा सङ्लग्न भएका थिए ।
भक्तपुर जिल्ला अदालतको मिति २०७९ पुस १ गतेको फैसला बमोजिम जन्म कैद अर्थात् २५ वर्ष र सात लाख रुपियाँ जरिवानाको सजाय ठहर गरी फैसला भए बमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारा, काठमाडौँमा रहँदै आएका थिए ।
स्थायी घर नवलपरासी कावासोती नगरपालिका वडा नं. ३ का तामाङ महोत्तरी बर्दिवास वडा नं. ५ बाट पक्राउ गरी आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।