• १३ साउन २०८१, आइतबार

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

blog

फाइल तस्बिर

कास्की, मङ्सिर ९ गते । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा पशुपक्षीका क्षेत्रमा दुई देशबिचको सहकार्यअनुरूप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा.जगदीश पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र वीर्य उत्पादन सिकाइ सुरु हुनेछ । राँगाबाट आगामी पुसदेखि वीर्य सङ्कलन सुरु गरिने पाण्डेले बताउनुभयो । “मुर्रा राँगा स्वस्थ छन् भनेर प्रमाणित गरेर नेपाल ल्याइएको भए पनि यहाँ क्वारेन्टिनमा राख्नुपर्ने नियम छ । क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग मिसाउँदैनौँ”, उहाँले भन्नुभयो, “यहाँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन् । विभिन्न पशु रोगको परीक्षणपछि मात्र वीर्य सङ्कलन सुरु गर्छौँ ।”

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ । भैँसीमा पहिलो पटक उन्नत जातको नस्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा.पाण्डेले बताउनुभयो ।

भारतले दिएका मुर्रा राँगा नेपालगन्जस्थित रुपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो । उच्च नस्लका मुर्रा भैँसीले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नस्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो । रासस