• २ जेठ २०८३, शनिबार

हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको शुभारम्भ

blog

बागलुङको बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट सुरु गरिएको हरित हाइड्रोजन ग्यासको चुलो बाल्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
गलकोट, जेठ २ गते ।
बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन सुरु गरेको छ । गाउँपालिकाले खेर गइरहेको विद्युत् र पानीको सदुपयोग गरी ऊर्जा उत्पादन थालेको हो ।

ग्रिन हाइड्रोजन उत्पादन प्रक्रिया सफल भएपछि उत्पादित ग्यास सिलिन्डरमा भर्न थालिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । परियोजना सफल भएसँगै वडा नं. २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन सुरु गरिएको हो ।

नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एस एन्ड एओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विट्जरल्यान्डको साझेदारी तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाको सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकको सहयोगबाट खाना पकाउन प्रयोग हुने हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।

उत्पादित हाइड्रोजन ग्यासबाट चुलो बालेर जीत शेरचनले परियोजनाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर जाने पानी तथा विद्युत्को सदुपयोग गरी हाइड्रोजन उत्पादन गरेर सिलिन्डरमा भरिएको हो । विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रूपमा रहेको ग्रिन हाइड्रोजन विशेषगरी खाना पकाउन उपयोग हुने नयाँ प्रविधिका रूपमा हेरिएको छ ।

स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन र प्रयोग बढाउन सके आयातित ग्यास विस्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।

अन्य ऊर्जाको तुलनामा सुरक्षित तथा वातावरणमैत्री मानिने हाइड्रोजन एलपी ग्यासभन्दा सस्तोसमेत पर्ने बताइएको छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्ताको घरघरमा वितरण गर्न लागत अनुमानको कामसमेत सुरु गरिएको छ ।

नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादित ग्यास सुरक्षित रूपमा सिलिन्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उहाँले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने जानकारी दिनुभयो ।