गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४५ अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । गत चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ लगानी भित्रिएको थियो । वैशाखमा मात्र ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।
१० महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । कृषिमूलक १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमूलक क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यसैबिच चालु आवको नौ महिनामा १४ अर्ब ५५ करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ९४ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको सो अवधिको तुलनामा पाँच अर्ब बढी वैदेशिक लगानी भित्रिएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता रकम धेरै आए पनि वास्तविक लगानी भने न्यून मात्र भित्रिने गरेको छ ।
यस्तै चालु आवको नौ महिनामा खुद पुँजीगत ट्रान्सफर १४ करोड ५० करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा सात अर्ब ७१ करोड पुँजीगत ट्रान्सफर भएको थियो । गत आवको तुलनामा सो आवको नौ महिनामा नेपालबाट पुँजीगत ट्रान्सफर धेरै भएको तथ्याङ्कले देखाएको छ ।