• २ जेठ २०८३, शनिबार

भूमिहीनलाई लालपुर्जा दिन प्राविधिक तयारी जारी, वितरण अन्योलमा

blog

नापी कार्यालय तनहुँमा बसेर काम गर्दै राष्ट्रिय भूमि आयोगका कर्मचारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २ गते ।
राष्ट्रिय भूमि आयोग खारेज भए पनि तनहुँमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी पुराना अभिलेख संरक्षण तथा प्राविधिक तयारीका कामलाई नापी कार्यालय तनहुँले निरन्तरता दिएको छ । आयोगको संरचना नरहे पनि हालसम्म भएका नापजाँच, नक्साङ्कन तथा तथ्याङ्कको कम्प्युटर प्रविष्टि (डाटा इन्ट्री) जस्ता कार्य सुरक्षित राख्ने काम भइरहेको हो ।

आयोगका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहका अनुसार आयोग खारेजीअघि सम्पन्न भएका प्राविधिक कामलाई व्यवस्थित बनाउने तथा दर्ता भइसकेका निवेदनहरूको वर्गीकरण गर्ने काम भइरहेको छ । आयोग नभए पनि अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्ने र कानुनी रूपमा आवश्यक प्राविधिक तयारीलाई व्यवस्थित राख्ने काममा कर्मचारी खटिएको उहाँले बताउनुभयो ।

जिल्लाभर एक हजार १०८ भूमिहीन दलित, एक हजार ८७१ भूमिहीन सुकुम्बासी र २३ हजार १६७ अव्यवस्थित बसोबासीको पहिचान भइसकेको छ ।

प्राविधिक रूपमा ४३ जना भूमिहीनका सबै कानुनी तथा प्रक्रियागत काम पूरा भई लालपुर्जा वितरणको अन्तिम चरणमा पुगे पनि आयोग खारेजी र केही प्राविधिक सामग्री अभावका कारण वितरण कार्य ठप्प भएको छ । सबै प्रक्रिया पूरा भएर पनि लालपुर्जा वितरण हुन नसक्दा भूमिहीन परिवार अन्योलमा परेका छन् ।

आयोग खारेज भएसँगै राष्ट्रिय भूमि आयोगका कर्मचारी नापी कार्यालयमै बसेर काम गरिरहेका छन् । सरकारले आयोग खारेज गरे पनि कर्मचारी नहटाएकाले काम जारी रहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।