गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २ गते । नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ देशभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक गरिएको छ । गीतले सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आमनागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भ्रातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देश प्रस्तुत गरेको छ । गीतमार्फत समाजमा सकारात्मक सोच, सहकार्य र परिवर्तनको आवश्यकता औँल्याइएको छ ।
उक्त गीतमा दीपक शर्माको सङ्गीत तथा उदयराज पौडेलको संयोजन रहेको छ । स्वरमा समीर खरेल, सदिच्छा कट्टेल, सबिन सुवेदी र बेनिसा पौडेल रहनुभएको छ । गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना रानामगर र किरण थापालगायत कलाकारको अभिनय छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी किरण थापाले गरेका हुन् भने छायाङ्कन पवन सोस्लिङले गर्नुभएको छ । भिडियो परिकल्पना सरोज ओलीको रहेको छ ।
प्रहरी महानिरीक्षक कार्कीले यसअघि पनि विभिन्न सामाजिक तथा भावनात्मक विषय समेटिएका गीत सार्वजनिक गरिसक्नुभएको छ । उहाँको शब्दमा आधारित ‘आमा म त खरानीबाट उठेर आएँ’ ले प्रहरी कर्मचारीको जोखिमपूर्ण जिम्मेवारी र निःस्वार्थ सेवाभावलाई चित्रण गरेको छ । त्यसै गरी ‘फूलको बास्ना सरी’ मा प्रहरीका दुःख, भावना र जनताप्रतिको सेवाभाव समेटिएको छ भने दसैँ, तिहार, बाल तथा कमर्सियल गीतमा समेत आइजिपी कार्कीले शब्द सिर्जनामार्फत कलम चलाउँदै आउनुभएको छ । नयाँ गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।