अर्जुन काफ्ले
स्याङ्जा, जेठ २ गते । ‘मुन लाइट ग्रुप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर र साँखर वरियर आज उपाधिका लागि भिड्दै छन् । चापाकोट नगरपालिका– ९ मा रहेको गंगालाल माविको खेलमैदानमा शनिबार बिहान ११ बजे गण्डकी फायर र साँखर वरियर बीच खेल हुने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेम नारायण रेग्मीले जानकारी दिनुभयो ।
चापाकोट नगर क्रिकेट संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा संञ्चालन भएको खेलमा गण्डकी फायर लिग चरणका सबै चारै खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने साँखर वरियरले कुवाकोट युथ स्टारलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
वैशाख २६ देखि भइरहेको क्रिकेट लिगमा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच समुहले सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथमले एक लाख १० हजार र दोस्रोले ६० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।