काठमाडौँ, असोज २९ गते । पशु सेवा विभागले उपत्यकामा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
दसैँलाई लक्षित गरेर ल्याइने खसीबोका अस्वस्थकर हुुन सक्ने भएकाले स्वस्थ खसीबोका वितरण गर्न आइतबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिएको हो । परीक्षणपश्चात् स्वस्थ खसीबोकाको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो स्टिकर लगाइने विभागले जानकारी दिएको छ ।
उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको हो । कलङ्की खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाकामा यस्तो परीक्षण गर्न थालिएको छ । त्यस्तै लगनखेल, धापाखेल आकासेधारा, सुकेधारा र चन्द्रागिरि (थानकोट) दाउरा डिपो, दहचोक, मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा सङ्कलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सुरु गरिएको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको स्थानमा पाँचदेखि सात जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ । यो टोलीमा पशु स्वास्थ्यकर्मी र प्राविधिक परिचालन गरी क्लिनिकल परीक्षण गरिने छ ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द ढकालले दसैँमा उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने हुँदा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थ खसीबोका भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । शुद्ध र स्वस्थ मासुका लागि हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न उपभोक्तालाई उहाँले आग्रह गर्नुभयो । यस्तो परीक्षण आगामी कात्तिक ६ गतेसम्म गर्ने जनाइएको छ । पशु चिकित्सकले दसैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।
“दसैँको मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगवाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ,” डा. ढकालले भन्नुभयो, “मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्यक्रम सुरु गरेको हो ।”
पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिँगान र ¥याल बगेको, मलद्वारबाट पातलो दिसा बगेर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा सङ्व्रmमित रोगबाट कानमा घाउ भएको वा रगत बगेको परीक्षण गरिन्छ । त्यस्तै शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्याउने, घरी घरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गर्ने छन् । परीक्षणका क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रङ लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिने व्यवस्था गरिएको छ ।
निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पिपिआर, क्षयरोग, रेबिज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानीमा राखेर उपचार गरिने छ । विभागका अनुसार निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचारपश्चात् स्वस्थ भएका खसीबोकालाई पुनः बिक्रीका लागि बजार पठाइने छ । खोरेत, पिपिआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई कुनै पनि सर्तमा बिक्री गर्न अनुमति नदिने विभागले जनाएको छ ।
पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पिपिआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुन्छ । मानिसको ज्यान पनि जोखिममा पर्न सक्छ । उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा ‘साल्मोनेल्ला’ को जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ । विभागका अनुसार गत वर्षको दसैँमा खसीबोका ५१ हजार, च्याङ्ग्रा दुई हजार पाँच सय तथा राँगा पाँच सयको हाराहारीमा उपत्यकामा भित्रिएका थिए ।