• ७ फागुन २०८२, बिहिबार

निर्वाचन प्रहरीका बन्दोबस्ती : नेपाली जुत्ता, भारतीय लाठी

blog

काठमाडौँ, फागुन ७ गते । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन् । निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो । 

नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो । 

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । “जुत्ता हामीले उपलब्ध गराउने होइन निर्वाचन प्रहरी आफैँले खरिद गर्नु पर्छ,” जुत्ता सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न भनिएको छ ।’’ पोसाक र बेतको लट्ठी स्थानीय उत्पादनले नपुगेपछि व्यापारीले भारतबाट समेत ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन अवधिमा एक लाख ३३ हजार ९८० जोर जुत्ता र सोही सङ्ख्यामा बेतको लट्ठी खपत हुने गर्छ । प्रतिव्यक्ति एक जोरका दरले पोसाकसमेत एक लाख ३३ हजार ९८० जोर खपत हुने गर्छ । धेरै जोर पोसाक खपत हुने हुँदा सिउन नभ्याएकाले पनि व्यापारीले भारतबाट आयात गरेको नेपाल प्रहरीले जनाएको छ । 

गोल्डस्टारसँगै नाइक कम्पनीको जुत्तासमेत प्रयोग गर्न भनिएको काफ्लेले जानकारी दिनुभयो तर नाइकका जुत्ता महँगो पर्ने गर्छ । निर्वाचन प्रहरीका लागि सरकारले पोसाकको पैसा दिने र व्यक्ति स्वयम्ले खरिद गर्नुपर्ने व्यवस्था छ । बजारमा गोल्डस्टार जुत्ताको मूल्य न्यूनतम पाँच सयदेखि पाँच हजार रुपियाँ रहेको छ । निर्वाचनमा जुत्ताको खपत धेरै भएपछि कारोबारसमेत धेरै हुने गर्छ । 

निर्वाचन प्रहरीका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९.४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४,७७६ रुपियाँ तोकिएको छ । 

मतदानको दिनअघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन तीन सय रुपियाँका दरले एकमुष्ट एक हजार दुई सय रुपियाँ खाजा खर्च उपलब्ध गराइने छ । 

गोल्डस्टार कम्पनी (सुज म्यानुफ्याक्चरर प्रालि) ले विभिन्न नाममा वार्षिक एक करोड ६६ लाख ५० हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले बढी मात्रामा भने गोल्डस्टार ब्रान्ड नाममा जुत्ताको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले नेपालभरमा ६० वटा डिलरमार्फत जुत्ता वितरण गर्दै आएको छ । 

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अनुसार अहिले मुलुकमा ठुला, मझौला, साना र लघु उद्यम गरी करिब एक हजार छ सय जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् । 

तिनमा सडकको घुम्तीमा बसेर जुत्ता सिलाउनेदेखि निर्यात गर्नेसम्मका उद्योगमा सामान्यदेखि स्तरीय जुत्ता उत्पादन हुने गर्छन् । सडकमै चल्ने साना उद्योग एक हजार दुई सय वटा छन् । दैनिक एक सयदेखि एक हजार जोर जुत्ता उत्पादन गर्ने उद्योगको सङ्ख्या २४० छ । सङ्घका अनुसार पाँच हजारदेखि ७० हजार जोरसम्म दैनिक उत्पादन गर्ने उद्योग ६० वटा छ । बजारमा विभिन्न ब्रान्डका जुत्ता खपत हुने गर्छ । जुत्ताचप्पलको कच्चा पदार्थ स्थानीयस्तरमा उत्पादन नहुँदा व्यवसायीले बाहिरी मुलकबाट आयात गर्ने गरेका छन् । अहिले उद्योगले जुत्ताचप्पल बनाउन ७५ देखि ९० प्रतिशतसम्म कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात गर्दै आएका छन् ।

नेपालमा जुत्ताचप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ थाइल्यान्ड, जापान, कोरिया, सिङ्गापुर, भारत, नेदरल्यान्ड, चीन, ताइवानलगायतका मुलुकबाट आउँछ । धेरै कच्चा पदार्थ छिमेकी मुलुक भारत र चीनबाट आउँछ । गोल्डस्टार, मिलानोलगायतका केही ब्रान्डले भारतसहित विभिन्न मुलुकमा निर्यात गर्दै आइरहेका छन् ।