काठमाडौँ, असोज २८ गते । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।
घटस्थापनाको दिन बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा शुभसाइत विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसैलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले पहिलो दिन रोपेर दशमीको दिन पूजा विसर्जनपछि पूर्ण कलशको जलले अभिषेक गरी जमरालाई प्रसादका रूपमा परिवारका ज्येष्ठ सदस्य वा पुरोहितबाट ग्रहण गर्ने परम्परा रहेको छ । कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि छ ।
दुर्गापक्ष पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ वटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ ।
सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, अन्य देवी स्तोत्र एवं स्तुति गरिन्छ ।
बागमती प्रदेशका प्रमुख शक्तिपीठ कालिञ्चोकका लागि प्याकेज
बडादसैँ सुरु भएसँगै बागमती प्रदेशको काठमाडौँ उपत्यका र विभिन्न जिल्लाका शक्तिपीठमा विशेष भिड लाग्ने गर्छ । काठमाडौँको भद्रकाली, सङ्कटा, महाङ्काल गुहेश्वरी, भाटभटेनी, नक्साल भगवती, शोभा भगवती, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भिड लाग्छ ।
दोलखाको कालिञ्चोक भगवतीलाई पूर्ण विश्वासका साथ पूजाआराधना गरी प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले दसैँको समयमा देशका विभिन्न जिल्लाबाट दर्शनार्थीहरू पुग्ने गर्छन् ।
स्कन्द पुराणमा कामाचल गिरि हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको छ । जस अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो भन्ने उल्लेख पाइन्छ । यहाँ पहिले कुनै भगवतीको मूर्ति थिएन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ । त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । यहाँ मन्दिरसम्म पुग्न कुरीबाट केबुलकार पनि निर्माण गरिएको छ ।
दसैँको समयमा काठमाडौँलगायत झापाबाट पनि दर्शनार्थी पु¥याउनका लागि प्याकेजको व्यवस्था मिलाउन लागिएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन सिवाकोटीले जानकारी दिनुभयो ।
महाभारतकालीन भुटनदेवी
मकवानपुरका विभिन्न शक्तिपीठमध्ये भुटनदेवी मन्दिरसँगै हेटौँडाको चुरियामाई, दक्षिणकाली, वनस्खण्डी, पाथीभरा, त्रिवेणीधामस्थित देवीको मन्दिर, मकवानपुरगढी गाउँपालिकास्थित मनकामना, थाहा नगरमा रहेका वज्रवाराहीलगायतका मन्दिरमा दसैँमा दर्शन एवं भक्तजनले श्रद्धापूर्वक पूजाआजा गर्न पुग्छन् । घटस्थापनाको दिनबाटै भक्तजन आफूले चिताएको कुरा पूरा होस् भन्दै पूजा सामग्रीसहित पुगेर पूजाआजा र साधनामा व्यस्त हुन्छन् । यी पीठहरूमध्येका भुटनदेवी मन्दिर हेटौँडा उपमहानगरपालिका–१० मा अवस्थित छ । किंवदन्ती अनुसार महाभारतकाल र सेनवंशीय राजाको इतिहाससँग यस मन्दिरको नाम जोडिएको छ । यस मन्दिरको पुजारी राई जातिका रहेका छन् ।
साक्षात् देवी इच्छाकामना
चितवनको सबैभन्दा चर्चित शक्तिपीठ इच्छाकामना रहेको छ । साक्षात् देवीका रूपमा यो मन्दिर मुग्लिनबाट दक्षिण भेगमा डाँडामा रहेको छ । मन्दिरबाट गोरखा, मकवानपुरका क्षेत्र देख्न सकिन्छ । भक्तिभावका साथ पूजा गरी मागेमा इच्छा पूरा हुने विश्वास रहेको स्थानीय तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो । सुरुवातमा गुरुङले मात्र मान्दै आएको मन्दिरमा अहिले सबै समुदायको आस्थाको केन्द्र बन्दै गएको अधिकारीले बताउनुभयो ।
गोरखाको मनकामना, गोरखकाली, तनहुँको छिम्केश्वरी, चितवनकै त्रिवेणी वराहा देवीलार्ई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ । योसँगै चितवनको शक्तिखोरमा रहेको कालिका देवी, माडीको सोमेश्वर डाँडामा रहेको कालिका मन्दिर, भरतपुरको वडा नं. ११ मा रहेको जखेडीमाई पनि यहाँका प्रमुख पीठ मानिन्छ ।
खड्ग स्वरूपमा खाँडादेवी
रामेछापको प्रमुख पीठमध्ये खाँडादेवी प्रमुख मानिन्छ । खाँडादेवी गाउँपालिका–२, मझुवामा यो मन्दिरमा नवरात्रभर दर्शनार्थीको भिड लाग्छ । खाँडादेवीको महिमा शिव पुराणको हिमवत् खण्डमा समेत उल्लेख छ । जसमा रोसी खोला र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालिन्चोकमा अन्तध्र्यान हुनुभएको उल्लेख छ । मन्दिरका पुजारी तामाङ छन् । खाँडादेवीका पुजारी रहेका तामाङहरू हिन्दु धर्म मान्छन् । खाँडादेवीको शिला विसं १५१५ माघ १५ गते मङ्गलबारका दिन उत्पत्ति भएको मानिन्छ । सो मन्दिरमा विसं १५७३ सालमा चढाइएको घण्ट अहिले पनि छ ।
सिन्धुलीका पीठमा सामूहिक जमरा
सिन्धुलीका विभिन्न शक्तिपीठमा सामूहिक रूपमा जमरा राख्ने गरिन्छ । यहाँका कालीमाई मन्दिर, रक्तमाला मन्दिर, भद्रकाली मन्दिर र कमलामाई मन्दिरमा रहेका दसैँघरमा सामूहिक जमरा राख्ने गरिन्छ । कमलामाई नगरपालिका–४ स्थित रक्तमाला मन्दिरमा करिब दुई हजार पाँच सयले सामूहिक जमरा राख्ने तयारी गरिएको वडाका वडाध्यक्ष महेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो मन्दिर सेन वंशका राजाको पालामा करिब १८१९ तिर स्थापना गरिएको इतिहास पाइन्छ ।
मन्दिरमा विगत २६ वर्षदेखि सामूहिक जमरा राख्ने कार्यक्रम हुँदै आएको छ । जमरा आफैँले राखे प्रतिटपरी एक सय रुपियाँ र मन्दिरले राखेको जमरा लगेमा प्रतिटपरी तीन सय रुपियाँ तिर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै कमलामाई नगरपालिका–५ स्थित कालीमाई मन्दिरमा पनि आठ सय टपरीमा सामूहिक जमरा राख्ने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अच्युतम ढकालले जानकारी दिनुभयो ।
जेठी देवीका रूपमा पलाञ्चोक
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती, बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी, बनेपा नगरपालिका–४ मा रहेको उग्रचण्डी नाला भगवती मन्दिरमा नवरात्रिमा दर्शनार्थीको भिड लाग्छ ।
नेपालमा रहेका भगवतीका मन्दिरमध्ये सबैभन्दा पुरानो मानिएको पलाञ्चोक भगवती मन्दिरलाई अलौकिक सुन्दर रहेको छ । करिब एक हजार ६५५ वर्ष पहिले मन्दिर निर्माण भएको शिलालेख पाइन्छ । यो भगवतीलाई सबै भगवतीमध्ये जेठी दिदीका रूपमा समेत पनि चर्चा गर्ने गरिन्छ ।
त्यस्तै बनेपा नगरपालिका–४ मा रहेको नाला भगवतीको दर्शनले सङ्कट नाश गर्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । बनेपा नगरपालिका–५ मा रहेको चण्डेश्वरी मन्दिरमा पनि उत्तिकै भिड लाग्छ । परापूर्वकालमा बनेपावासीलाई दुःख दिने चण्डासुर दैत्यलाई चाँपको रुखबाट प्रकट भई बध गरेको किंवदन्तीका आधारमा चण्डेश्वरी देवीको पूरा गरिन्छ ।
(प्रदेश संयोजक राममणि दाहालसहित जिल्ला समाचारदाताहरू बाबुराम शर्मा, शालिग्राम नेपाल, नवराज श्रेष्ठ, बाबुराम देवकाटा, केदार तिमल्सिनाको सहयोगमा)