• १९ चैत २०८२, बिहिबार

विवादबिनै संसद सञ्चालन हुनेः ज्येष्ठ सदस्य केसी

blog

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी

काठमाडौँ, चैत १९ गते । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो।

उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भए पनि ती प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गर्नुभयो। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केसीले सभामुखको निर्वाचन अघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

केसीले बिहीबारको बैठक विवादरहित रूपमा सञ्चालन गर्ने विषयमा सबै राजनीतिक दल प्रतिवद्ध रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “संसद विभिन्न विचारधाराको संगमस्थल हो। मतभेद, घर्षण र कहिलेकाहीँ तिक्तता स्वाभाविक हुन्। ती प्रक्रियाबाट निस्किएको निष्कर्ष नै लोकतन्त्रको सौन्दर्य हो। संसद वाद–प्रतिवाद र संवादको थलो हो।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘अहिले सर्वदलीय बैठकबाट कसरी भोलि सुचारु सञ्चालन गर्ने भन्नेमा सबै दलका प्रतिनिधिहरू सहमत भएका छन्, त्यसैले भोलि कुनै विवाद हुने देख्दिन। संसद राष्ट्रिय राजनीतिक संस्कृतिको पहिचान हो र यसको संरक्षक सभामुख हो। त्यसैले संसद र सभामुख लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षार्थ निरन्तर सक्रिय रहनुपर्छ।”

उहाँले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षामा सरकारले गर्ने काममा संसदका सबै दलको सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो। मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमीकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु लोकतन्त्रको मूल मर्म भएको उहाँको भनाइ छ।

केसीले भन्नुभयो, “सङ्ख्यात्मक दृष्टिकोणभन्दा पनि संविधानको रक्षा, जनताको सर्वोच्चता, स्वाभिमान, सम्मान र समृद्धि केन्द्रमा राखेर सरकार सञ्चालन हुनु पर्छ। वर्तमान सरकार जनताको उर्लंदो आकांक्षाको प्रतिनिधित्व गर्दै गठन भएको छ, त्यसैले अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्छ। स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता हो। विधि र प्रक्रिया पालना नगरी पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिन्छ।”

सभाको ज्येष्ठ सदस्यको हैसियतले केसीले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नुहुनेछ र सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रूपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।