• १९ चैत २०८२, बिहिबार

‘देश र जनताको हितमा काम गर्छु’

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), चैत १९ गते  । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रवीन्द्र पटेल सक्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँ सांसद बन्नुभन्दा अगाडिदेखि नै जिल्लामा विकास, सुशासनका लागि सव्रिmय भूमिका निर्वाह गरिरहनुभएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर उहाँ प्रतिनिधि सभा निर्वाचनमा फराकिलो मत अन्तरले निर्वाचित हुनुभएको हो । उहाँ प्रतिनिधि सभा सदस्यका लागि दोस्रो पटक उम्मेदवार बन्नुभएको थियो । उहाँले संसदीय राजनीतिमा १८ वर्षदेखि वर्चस्व राखेका आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहितका नेतालाई पछि पार्दै संसदीय यात्रा तय गर्नुभएको हो । उहाँले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा २७ हजार ३१८ मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११ हजार ९५४ प्राप्त गर्नुभएको थियो । आमजनता पार्टीका अध्यक्ष साह नौ हजार ८९० मतमै सीमित हुनु परेको थियो । 

२०६४ सालको संविधान सभा निर्वाचनमा सांसद पटेलले पूर्वमन्त्री साहलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । २०५१ सालमा माओवादीको भ्रातृ सङ्गठन अखिल व्रmान्तिकारीको सदस्यता लिएर राजनीतिक यात्रा सुरुवात गर्नुभएका प्रतिनिधि सभा सदस्य पटेलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाको प्रमुखका लागि पार्टीले टिकट नदिएपछि बागी उम्मेदवार भएर पराजित हुनुभएको थियो । २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट रौतहट–३ मा उम्मेदवार भएका पटेलको उम्मेदवारी निष्व्रिmय पार्दै प्रभु साहलाई समर्थन गर्ने पार्टीले निर्णय गरे पनि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको थियो । 

साहलाई समर्थन नगर्ने अडान राख्दै चुनावमा होमिएका पटेलले त्यसबेला आठ हजार ५५८ मतसहित तेस्रो स्थान हासिल गर्नु भएको थियो । रौतहटको मौलापुर नगरपालिका–९, सोनरनियामा २०३४ माघ ७ गते जन्मिएका पटेलले शिक्षा सङ्कायमा प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । 

उहाँले देश र जनताका हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफू सधैँ उहाँले बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई नेपालमै रोजगारीको सिर्जना हुनुपर्ने भन्दै उहाँले यसका लागि आफू प्रयासरत रहने बताउनुभयो । उहाँले ‘सुनौलो नेपाल, समृद्ध नेपाल’ बनाउने जिम्मेवारी रास्वपाले पाएको बताउँदै सांसद भएका बेला काठमाडौँ र बाँकी दिन जनताको घरदैलोमा बिताउने बताउनुभयो । 

स्वास्थ्यमा आमूल परिवर्तन, उच्च शिक्षा, आधुनिक कृषिमा सबैको पहुँच हुनुपर्ने भन्दै यसका लागि सरकारले गर्ने हरेक काममा आफ्नो सहयोग बताउनुभयो । उहाँले जनताले आधारभूत शिक्षा, स्वास्थ्य सेवासमेत हालसम्म पाउन नसकेको अवस्था अब अन्त्य हुने बताउनुभयो । बेरोजगारी समस्या समाधान, किसानको बालीनालीको राज्यले ग्यारेन्टी लिने कार्य, किसानलाई मलखादको उपलब्धतालगायतका काम प्राथमिकतामा राखेर आफू अघि बढेको बताउनुभयो । उखु किसानको समस्या, कटहरियामा प्रशासनिक सेवा केन्द्र स्थापनालगायतका जनताका स्थानीय समस्या समाधानका लागि आफू पहल गर्ने उहाँले बताउनुभयो । पाँच वर्षमा आफूले यहाँको समस्या समाधान गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न जनतामा नजाने भन्दै उहाँले विगतदेखि नै आफू यस क्षेत्रका जनतको बिचमै रहेर कामकाज गरेको कारण यहाँका समस्या आफूले बुझेको भन्दै समाधानका लागि सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।