नेपालगन्ज समाचारदाता
नेपालगन्ज, चैत १९ गते । नेपालगन्ज उपमहानगर पालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न बाँके प्रहरीले समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार समितिले घटनाको सत्यतथ्य र कारणबारे सूक्ष्म रूपमा अनुसन्धान गरेर विस्तृत प्रतिवेदन प्रस्तुत गर्ने छ ।
जिल्ला प्रहरी प्रमुख जिसीले भन्नुभयो, “घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी नायब उपरीक्षक पातलीको नेतृत्वमा समिति गठन गरेका छौँ । अनुसन्धानपछि घटनाको यथार्थ कारण खुल्ने छ ।”
प्रहरीका अनुसार शनिबार राति करिब ११:३५ बजे मगर नेपालगन्ज नर्सिङ होमपछाडिको क्षेत्रमा जलेको अवस्थामा सडकमा फेला पर्नुभएको थियो । जलेर गम्भीर घाइते उहाँलाई उपचारका लागि तत्काल भेरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले मगर विवाहित रहेको र उहाँको तीन वर्षीय छोरी रहेको जनाएको छ । उहाँ मोहम्मद आरिफ ढपालीसँग लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ढपालीसहित उहाँकी आमा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाटै पक्राउ गरिएको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।
यसैबिच घटनाको विरोधमा नेपालगन्जमा दैनिक जसो विरोध प्रदर्शन र विरोध सभा हुँदै आएका छन् । घटनाको चौतर्फी निन्दासँगै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग र दबाब बढ्दै गएको छ ।
सोही क्रममा विभिन्न सङ्घ संस्था र समूहले छुट्टाछुट्टै जिल्ला प्रशासन पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजायको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाउँदै विभिन्न सामाजिक सञ्जालमा समुदायबिच द्वन्द्व फैलाउने खालका टीकाटिप्पणी नगर्न र सञ्चार माध्यमले समेत प्रहरीको सूचना अधिकारीबाट यकिन गरी सूचना सम्प्रेषण गर्न अनुरोध गर्नुभएको छ ।