• १९ चैत २०८२, बिहिबार

गिद्ध संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक

blog

गिद्ध संरक्षणसम्बन्धी अन्तरक्रियामा सरोकारवालाहरू। तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), चैत १९ गते ।
प्रकृतिको कुचीकारका रूपमा चिनिने गिद्धको संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोर दिइएको छ। विषादीको प्रयोग नियन्त्रण गरी लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सुरक्षा गर्न कृषक र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरूले बताएका छन्।

नेपाल पंक्षी संरक्षण संघ, काठमाडौँको आयोजनामा, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनको सह–आयोजना तथा तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहको समन्वयमा बुद्धभूमि नगरपालिका १०, चेत्रादेईमा गिद्ध संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

गत फागुन ७ गते सोही वडाको मोतिनगर गाउँमा विषादीयुक्त सिनो खाँदा सात डंगर गिद्ध र दुई हिमाली गिद्ध मरेपछि समुदायको सहभागितामा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। सरकारले २०६३ जेठ १३ गतेदेखि डाइक्लोफेनाक विषादीको बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेको भए पनि केही क्षेत्रमा प्रतिबन्धित औषधीको प्रयोगले गिद्ध मर्नु दुःखद भएको बताइएको छ।

स्थानीय अगुवा तथा सन साइन सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्णकुमार श्रेष्ठले गिद्ध संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै, “सरकारले प्रतिबन्ध गरेको विषादी प्रयोग नगर्न र समुदायस्तरमै सचेतना फैलाउन आवश्यक छ,” भन्नुभयो।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष परमेश्वर यादवले जिल्लामा प्रतिबन्धित औषधीको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आएको दाबी गर्नुभएको छ। तथापि जोखिम अझै कायम रहेकाले अनुगमन र सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुकई प्रसाद चौधरीले गिद्ध संरक्षणका लागि कृषक र समुदाय सबैभन्दा बढी सचेत हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार सिनोमा विषादी प्रयोग, विद्युत प्रसारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी तथा रोगका कारण गिद्धको जीवन जोखिममा परेको छ।

नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा रहेको र हाल पञ्चवर्षीय योजना अनुसार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। सन् २०१७ देखि गिद्धको स्वास्थ्य परीक्षण र स्याटेलाइट ट्यागिङ सुरु गरिएकोले गिद्धको अवस्थाबारे जानकारी लिन सहज भएको उहाँले बताउनुभयो। सुरक्षित मापदण्ड पूरा भएपछि गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको छ।

गिद्धलाई प्रकृतिको कुचीकारका रूपमा लिइन्छ। यसले सिनो र फोहर खाएर वातावरण सफा राख्न सहयोग गर्ने भएकाले वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। एउटा गिद्धले तीन दिनमा करिब एक किलो र वर्षमा करिब १२० किलो सिनो खाने गर्छ।

विश्वमा करिब २३ प्रजातिका गिद्ध पाइन्छन् भने नेपालमा नौ प्रजाति पाइन्छ। नेपालमा पाइने प्रजातिमा सानो खैरो, राज, हिमाली, खैरो, हाडफोर, डंगर, सुन, गोब्रे आदि रहेका छन्। जसमध्ये डंगर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति संकटापन्न अवस्थामा रहेका छन्।

सरोकारवाला निकायहरूले गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन्। विषालु औषधीले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पुर्याउने भएकाले पशु चिकित्सकहरूले सुरक्षित औषधी प्रयोग गर्न सुझाव दिएका छन्।