• २६ फागुन २०८२, मङ्गलबार

प्रतिनिधि सभा सदस्य निर्वाचन : कलाकार आशावादी

blog

काठमाडौँ, फागुन २५ गते । कलाकारलाई देशको गहनाका रूपमा मात्र व्याख्या गरिँदै आए पनि यो भाष्यलाई कलाकारले तोड्ने भएका छन् । टेलिभिजन र ठुलो पर्दामा मात्र देखिँदै आएका कलाकार अब वास्तविक रूपमा राजनीतिक मञ्चमा देखिने पक्का भएको छ । आफ्नो बौद्धिकता र लोकप्रियताको उचाइलाई राजनीतिक दलमार्फत रूपान्तरण गरेर नेपाली कलाकार कानुन निर्माण गर्ने तहमा पुग्दै छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा कलाकारको भूमिकालाई मनोरञ्जन र प्रचारप्रसारबाट नीति निर्माणसम्म पु¥याउने भएको छ । नेपाली राजनीतिको इतिहासमा कलाकार सधैँ शक्तिको वरपर त रहे तर उनीहरूको भूमिका प्रायः सहायकमा मात्र सीमित थियो । विगतका चुनावमा कलाकारहरू दलका झन्डा बोक्दै जनसागर उतार्न ‘ग्ल्यामर’ थप्ने साधन मात्र बने तर यस पटकको निर्वाचनले यो भाष्यलाई पूर्णतः बदलेको छ । यो निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र नभएर नेपाली राजनीतिमा एउटा ठुलो सांस्कृतिक र बौद्धिक पुनर्जागरण साबित भएको छ ।

कलाकार दीपकराज गिरी जनतालाई भगवान् स्वयम् घण्टी बोकेर पृथ्वीमा झर्नुभएको छ भन्ने महसुस भएको छ । ईश्वरले त्यो पूरा परिवर्तन गर्नुहुन्छ भन्ने खालको विश्वास जागेको छ भन्नुहुन्छ । उहाँले थप्नुभयो, “रातारात त्यस्तो परिवर्तन गर्न सक्ने क्षमता त कोहीसँग पनि हुँदैन । आगामी बन्ने सरकारले जे जे जनतासँग वाचा गरेको थियो त्यो अवश्य पूरा गर्नु पर्छ ।” उहाँले भन्नुभयो, “जनताले यस पटक विकासको मुद्दा छाडेर प्रणालीकै परिवर्तनको चाहना राखेका छन् । काममा ढिलासुस्ती, कर्मचारीतन्त्रबाट जुन खालको काम हुनुपर्ने त्यो नभएको, देशले जुन प्रकारको गति लिनु प¥थ्यो त्यो नलिएका कारणले गर्दा जनताले मत परिवर्तन गरे ।” कलाकारहरू पर्दा र मञ्चको पात्रबाट समाजको वास्तविक नेतृत्वमा स्थापित गर्नु आफैँमा एउटा ऐतिहासिक साहस भएको नायिका ऋचा शर्माले बताउनुभयो । मतदाताले उनीहरूमाथि देखाएको यो विश्वास एक प्रकारको बौद्धिक विद्रोह भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले पहिलो हुने पार्टीले जति धेरै मत ल्याउनुभएको छ उहाँहरूले त्यसको जवाफदेहिता पनि लिन सक्ने हुनु पर्छ । उहाँले थप्नुभयो, “अब बन्ने सरकारले काम कसरी अगाडि बढाउँछ भनेर हेर्ने मन छ । अबको सय दिनमा के के परिवर्तन हुन्छ त ? हामी एकदमै साना साना कुरामा खुसी हुन्छौँ । त्यसले पनि अब बन्ने सरकारले सानो सानो कुरामा पनि फरक देखाउन थाल्यो भने जनताले गरेको विश्वास अवश्य नै पूरा हुन्छ ।” 

यो निर्वाचनले राजनीतिमा एउटा नयाँ लहर ल्याएको छ । यसले राजनीति केवल कुटिल राजनीतिज्ञले मात्र गर्ने हो भन्ने भ्रम चिरेको रङ्गकर्मी लक्ष्मी बर्देवाले बताउनुभयो । जनताले जे सोचेर मत खसालेका छन् त्यही अनुसार देश अगाडि बढ्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ । उहाँका अनुसार अब सबै कुरामा परिवर्तनको बाटो खुलेको छ । जनताले खोजेका क्षमता, इमानदारी र काम गर्ने इच्छाशक्ति भएको राजनीति देशले खोजेको र अहिले त्यसले पूर्णता पाउन लागेको छ । उहाँले थप्नुभयो, “अब कलाकारको हितमा पनि काम हुन्छन् र सांस्कृतिक क्षेत्रमा पनि अवश्य केही परिवर्तन आउला । संसद्मा कलाकारको प्रस्तुति शैलीको उपस्थितिले कानुन निर्माणको प्रक्रियामा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ । कला, साहित्य, सङ्गीत र बौद्धिक सम्पत्ति जस्ता समाजका ओझेलमा परेका मुद्दाले अब राष्ट्रिय बहसको केन्द्रमा स्थान पाउने छ ।”  

लामो समयदेखि केही सीमित दल र नेताको कब्जामा रहेको नेपाली राजनीतिमा यस पटक  कलाकारको दरिलो उपस्थिति भएको छ । यो दशकौँदेखिको राजनीतिक सिन्डिकेट र जडताविरुद्धको आक्रोशको अभिव्यक्ति हो । पर्दामा देखिने ‘हिरो’ हरू, अब समाजको वास्तविक समस्या समाधान गर्न नीति निर्माणको तहमा उक्लिएका छन् । कलाकारहरू संवेदनशील हुन्छन्; उनीहरूले समाजका सूक्ष्म पीडा, गरिबी र अन्यायलाई शब्द, स्वर र अभिनयमार्फत मात्र होइन, हृदयदेखि नै महसुस गरेका हुन्छन् । जब यस्तो समानुभूति भएको वर्ग संसद्मा पुग्छ, तब बन्ने कानुनमा केवल शब्दको जाल हुँदैन, त्यहाँ नागरिकको भावना र आवश्यकताको वास्तविक प्रतिविम्ब हुन्छ ।