बबई समाचारदाता
बबई (बर्दिया), चैत १९ गते । सञ्चार प्रविधिको तीव्र विस्तारसँगै बर्दियामा मोबाइल फोन हराउने घटनामा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै ४७९ वटा मोबाइल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता भएको छ तर तीमध्ये आधाभन्दा बढी मोबाइल अझै फेला पर्न सकेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार दर्ता भएका उजुरीमध्ये १७६ वटा मोबाइल मात्रै फेला पार्न सकिएको छ भने २९३ वटा घटनामा अनुसन्धान जारी रहेको छ ।
आव २०८०/८१ मा ६८ वटा मोबाइल हराएको उजुरी पर्दा २६ वटा मात्र बरामद भएका थिए भने ३५ वटा अझै फेला पर्न सकेका छैनन् । त्यसै गरी आव २०८१/८२ मा २६२ वटा मोबाइल हराएको उजुरी दर्ता भएकामा ९१ वटा मात्र फेला पारिएका छन् । चालु आवको चैत मसान्तसम्म १५६ वटा मोबाइल हराएको उजुरी परेको छ । तीमध्ये ५९ वटा मोबाइल मात्र फेला परेको छ भने ९७ वटा अझै पत्ता लाग्न सकेका छैनन् ।
प्रहरीका अनुसार मोबाइल हराउने घटनामा चोरी र लापर्बाही दुवै कारण जिम्मेवार देखिन्छन् । कतिपय मोबाइल चोरी हुने गरेका छन् भने कतिपय प्रयोगकर्ताकै असावधानीका कारण हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार उजुरी परेका केही फेला परे पनि ठुलो सङ्ख्या अझै पत्ता लाग्न बाँकी छ । उहाँले भन्नुभयो, “हराएका मोबाइलमध्ये कतिपय सेवाग्राहीले फेला परेपछि प्रहरीलाई बुझाउने गरेका छन् भने चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही पनि भइरहेको छ ।”