• १९ चैत २०८२, बिहिबार

‘हरित पूर्वाधार र सुशासन मुख्य प्राथमिकता’

blog

छवि पाण्डे

बुटवल, चैत १९ गते । राजनीतिमा लागेको पुगनपुग छ महिनामै एउटा युवाले दशकौँदेखि स्थापित राजनीतिक दलका उम्मेदवारलाई किनारा लगाउला भनेर कमैले अनुमान गरेका थिए । यस्तै भएको छ, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान विजय हुँदा सबै स्तब्ध भएका छन् । 

विजय पनि सामान्य मतान्तरले होइन २५ हजार ७०६ मतले ।  खानले ३८ हजार ८०६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का खिमलाल भट्टराईले १३ हजार एक सय मत पाउनुभयो । कांग्रेसका दिग्गज नेता भरतकुमार शाह तेस्रो स्थानमा खुम्चिनुभयो । रुपन्देहीको भैरहवामा २०४४ असोज १५ गते जन्मिनुभएका तौफिक खान एक व्यावसायिक पृष्ठभूमिका शिक्षित युवा हुनुहुन्छ । भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक र पाण्डिचेरी विश्वविद्यालयबाट व्यवस्थापनमै स्नातकोत्तर गर्नुभएका खानसँग नीति निर्माण र परियोजना व्यवस्थापनको गहिरो अनुभव छ ।

राजनीतिमा आउनुअघि उहाँ ‘हरित अभियन्ता’ का रूपमा चिनिनुहुन्थ्यो । लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको रणनीतिक सल्लाहकार भएर काम गर्दा उहाँले फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा र कार्बन न्यूनीकरण जस्ता विषयमा आफ्नो विज्ञता देखाउनुभएको थियो । ग्रिन युथ फाउन्डेसन र विश्वशान्ति कार्यक्रम (लुम्बिनी) को समन्वयकर्ताका रूपमा उहाँले अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालको प्रतिनिधित्व गरेको बताउनुहुन्छ ।

खानको उम्मेदवारी सुरुदेखि सहज भने थिएन । पार्टीभित्रैका पुराना नेतालाई पाखा लगाएर माथिबाट बल प्रयोग गरेर टिकट पाएको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिएको थियो तर चुनावी मैदानमा होमिँदा उहाँले यी सबै आलोचनालाई आफ्नो काम र एजेन्डाले जवाफ दिनुभयो ।

उहाँको जितको मुख्य आधार जेनजी अर्थात् नवयुवापुस्ताको साथ रह्यो । आधुनिक सोच, प्रविधिको प्रयोग र विकासको स्पष्ट खाकाले मतदातालाई आकर्षित ग¥यो । सदर मतको करिब ४९.२३ प्रतिशत मत प्राप्त गर्नुले उहाँ केवल रास्वपाको उम्मेदवार मात्र नभई साझा उम्मेदवारका रूपमा उभिएको पुष्टि गर्छ ।

खान भन्नुहुन्छ, “बहुसङ्ख्यक मतदाताको मन जितेर संसद्मा पुगेको छु, अब पार्टीको निर्देशन र सुशासनको मार्गमा हिँड्ने मेरो पहिलो प्राथमिकता हो ।” स्वदेशमै रोजगारी सिर्जना, हरित पूर्वाधार र पारदर्शी राजनीति नै उहाँका आगामी कार्यभार हुन् ।

विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित राख्न नहुने भन्दै उहाँले वातावरणीय सन्तुलन र जनसहभागिता पनि त्यत्तिकै महìवपूर्ण हुने बताउनुहुन्छ । अब खानको ध्यान संसद्भित्रको भूमिकामा केन्द्रित छ । सुशासन, स्वदेशमै रोजगारी सिर्जना, हरित विकास र युवाको सहभागिता उहाँका प्रमुख एजेन्डा हुन् । खान भन्नुहुन्छ, “पार्टीको नीति अनुसार काम गर्ने छु तर जनताको आवश्यकता मेरो पहिलो प्राथमिकता हुने छ ।”

लुम्बिनीलाई विश्वकै आध्यात्मिक गन्तव्य बनाउने आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने गरी आफूले भूमिका खेल्ने खानको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पर्यटनबाटै स्थानीयलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सकिन्छ, यसतर्फ मेरो विशेष पहल हुने छ ।” दक्षिण सीमादेखि उत्तर मलमला मन्दिरसम्म रैथाने संस्कृति झल्काउने पर्यटकीय मार्ग निर्माण गर्ने उहाँ बताउनुहुन्छ । “राजनीतिलाई पेसा नबनाएर पनि जित्न सकिँदो रहेछ,” उहाँ भन्नुहुन्छ, “मेरो क्षेत्रमा बुद्ध जन्मस्थल छ । त्यसैले लुम्बिनीलाई व्यवस्थित गरेर पर्यटन प्रवर्धन गर्न सकियो भने नागरिकको जीवनस्तर उकासिन्छ ।”