• १४ पुस २०८१, आइतबार

गलत सोच र दिशाहीन गन्तव्य

blog

सुनसान फुटपाथमा आफ्नो शरीरलाई कालो आवरणले बेरेर कुनै मानव आकृति छिटो छिटो अघि बढिरहेको देखिन्थ्यो । साँझ घर्किसकेको र नमाजको समय भएकाले पनि होला सडकमा गाडी पनि कम गुडिरहेका हुन् कि जस्तो पनि देखिन्थे । छिन छिनमा मानव आकृतिले सतर्क भएर टाउको केही घुमाउँदै र अनि केही समय रोकिएर यताउती हेरिरहे जस्तो पनि लाग्थ्यो । त्यो आकृति अरू कसैको नभएर बेग्लै परिवेश र रहनसहनमा अल्झेर बाँच्न नसकेकी ललिताको थियो । 

ललिता भर्खरै आफ्नो मालिकको घरबाट भागेकी घरेलु कामदार थिई । 

साँझको बेला त्यसमा पनि आकाशमा टम्म बादल लागेकाले ललिता केही अँध्यारो अनुभव गरिरहेकी थिई । तैपनि ऊ आफ्नो गन्तव्य ठाउँमा छिटो पुग्न आफ्नो हिँडाइको गति झन् झन् तेज गराइरहेकी थिई । उसको काँधमा एउटा ब्याग र त्यसभित्र एक जोर लुगा अनि केही दिनारका नोटबाहेक केही पनि बोक्न पाएकी थिइनँ । उसको मुटुको धड्कन एक्कासि बढ्दै पनि गइरहेको थियो किनभने खोजी गर्न निस्केका मालिक वा उसका पछुवाहरूले भेटे भने बाटोमा रोकिएर भागेकै ठाउँमा फर्कनुपर्ने धेरै घटनाहरूबारे केही अरू आफूजस्तै दिदी बहिनीहरूको कथाव्यथा उसले सुनेकी थिई । फर्केर जान बाध्य हुने अरू दिदीबहिनीका पीडापूर्ण दिनहरूको बयान पनि सुनेकी थिई । 

ललिताको आँखा अगाडि यता आउने दिनको झझल्को आइरहेको थियो ।

उतिबेला टीका अनि फूल माला पहिरिएर नेपालबाट यता हिँड्ने हतारमा बिदाइको हात हल्लाउँदै आँखाभरि आँशु टप्किएको थियो । आज यस्तो नियति भोग्नुपर्ला भन्ने के थाहा उसलाई ! त्यो समय आफूभित्र उर्लिरहेको उमङ्ग, त्यो रोमाञ्चकता, उज्यालो भविष्यको त्यो सुन्दर सपना सबै सबै अहिले आएर एक्कासि बिलाएको अनुभूति भइरहेको थियो ललितालाई । उसको मुखबाट कुनै वाक्य फुटेको थिएन, मानौँ उसको स्वर नै बिचमै अड्किएर हराएको थियो । घरबाट निस्कँदा आमाबुवा, दाजुभाइ, दिदीबहिनी, नातागोता साथीसँगी सबै अश्रुपूर्ण आँखा र भारी मनका साथ बिदाइका लागि उपस्थित हुँदा डाको छोडेर ललितालाई रून मन लागेको थियो । तर पनि उसले आफूलाई सम्हाल्ने कोसिस गरेकी थिई ।

हिँड्ने बेलामा आमाले नानी परदेशको ठाउँ, बोली भाषा, चालचलन रहन सहन खानपिन सबै नौलो, होसविचार गरेर काम गरेस्, मलाई त सारै डर लागिरहेछ भन्दै रून थालेकी थिइन् । ललिता पनि भावुक बन्दै धेरैबेरदेखि जबर्जस्ती रोकिएको उसको धैर्यको बाँध टुट्नै लागेको अनुभव गर्दै थिई । घरको माहोल पनि स्तब्ध थियो मानौँ केहीबेर संसार नै ठप्प भए जस्तो लाग्ने ! ऊ आमालाई अँगालो मारेर रुँदै केही बोल्न सकेकी थिइन् । 

अनि ललिताले घुम्दै आएका तल्लाघरे मास्टर काकालाई सम्झी । उनले बारम्बार सम्झाउने भाखामा भन्ने गर्थे, “नानी विदेशको काम तिमीले सोचे जस्तो सजिलो कहाँ हुन्छ र, धेरै दुःख छ नानी विदेशमा । तैपनि विदेश जान्छु नै भन्छ्यौ भने सबै कुरा बुझेर मात्रै जाऊ । मैले थाहा पाए अनुसार जसको भर परेर तिमी विदेश जान तयार छौ, ऊ त्यति भरपर्दाे मान्छे होइन । जानुअघि कामको प्रकृति बुझेर, केही सीप सिकेर मात्र जानू । नत्र दुःख पाइन्छ नानी ।”

उतिबेला ललितालाई काका मन पर्दैनथ्यो, उसलाई लागेको थियो, “कत्रो डाहा गर्छन् हो तल्लाघरे मास्टर काका ! अरूको खास गरी हाम्रो परिवारको उन्नति प्रगति त देख्नै नचाहने । नाताले पो काका ! के गर्नु नाता मात्रले ? वास्तवमा उनी मेरो र हाम्रो हित सोच्ने मान्छे नै होइनन् ! अघिल्लो वर्ष पनि भाइलाई विदेश पठाउँभन्दा रिसाएर बालाई कुट्न मात्रै बाँकी राखेका थिए । “भर्खर एसएलसी पास भएको छोरोलाई राम्रो क्याम्पसमा पढाउन छोडेर विदेश पठाउँछु पो भन्छौ । किन बुद्धि विग्रेको तिम्रो ? मेरो पनि त हक छ नि उसमा । म जान दिन्नँ,” भन्दै बालाई खुब हकारेका थिए । ललिता काकासँग निकै चिढिएकी थिई, “खुब हुन्छ उनको हक । खै त उसको फी तिरिदिएको ? भर्ना हुँदा जाबो अलिकति सहयोग गरे समाजमा फुइँ लाउनलाई । हाम्लाई थाहा छैन र ? उनीभन्दा हामीमाथि जान्छौँ भनेर अनेक तिकडम गरेको हामी बुझ्दैनौ भन्ठान्या छन् ? उल्टै बहिनी भन्दै सहयोग गर्ने विचरा ती टाढाबाट आएका दाइलाई आरोप पो लाउँछन् बा । हैन तिनको के खाइद्या छ हाम्ले ? तिनीसँग कुनै सहयोग माग्या छैन । तिनलाई केको टाउको दुखाई भन्या । उनी पो हाई स्कुलका मास्टर । खुरुखुरु महिनैपिच्छे तलब बुझ्छन् र मोज गर्छन् । हामी चाहिँ सधैँ त्यही खेती किसानी मात्रै गर्नु ? रिस गर्नुको पनि सीमा हुन्छ नि । गैराघरे ठुल्दाइ पनि त गतिला छैनन् । काकाकै मुखमा मुख मिलाएर कुरा गर्छन् । यस्तै हुन् आफन्त भनाउँदाहरू ।”

अर्काेतिर उसको मनमा अहिले आफ्नो विचल्ली पार्नेप्रति यस्तो कुरा खेलेको थियो, “बिचरा उसलाई विदेशमा काम खोजिदिने टाढाका ती दाइ भगवान् बनेर आएका छन् हाम्रो घरमा । कति मिठो बोली वचन ! कति सहयोगी भावना ! नाता सम्बन्धले त को नै पो हुन् र उनी हाम्रा ? मेरो नागरिकता बनाउन पनि सहयोग गरे । कति पैसा खुवाएर मेरो चार वर्ष उमेर बढाएका अरे, नत्र विदेश जान पाइन्न भनेर । मेरो भाइले किन वर्ष बढाएको भनेर सोध्दा भनेका थिए उनले । कति चाँडै हाम्रो पीरमार्का बुझेका । पासपोर्ट पनि उनैले बनाइदिए । नत्र म गाउँकी अनपढ केटी कसरी गर्न सक्थेँ र यो सब काम । आफ्ना भनाउँदाहरूको चाला त्यस्तो छ । जे होस् अब म विदेश जान्छु, टन्न पैसा कमाउँछु र मेरो रिस गर्नेहरूको शिर निहु¥याइदिन्छु । मैले त्यहाँ घाँस दाउरा गर्नुपर्दैन रे, भारी बोक्नु नि पर्दैन रे ! वश घरमै बस्यो, घरभित्रकै काम ग¥यो, मिठो मिठो खायो, टन्न पैसा कमायो, आहा कस्तो रमाइलो जिन्दगी ! जाबो घरभित्रको काम गर्न मलाई केको दुःख ? यहाँ यस्तो दुःख त सहेकै छु । टन्न पैसा भएपछि राम्रा केटाहरू पनि त पछि लाग्छन नि ! अनि म आफैँ त धैरै केटामध्येबाट राम्रो केटा छानेर बिहा गर्छु ! म रुनु हुन्न, के म दुःख पाउन जान लाग्या हो र ?”

यस्तै कुरा मनभित्र खेलाउँदै त्यो दिन घरबाट निस्कनुअघि उसले मन बलियो पारेकी थिई । आफन्तहरूबाट टाढिनुपर्दाको पीडालाई पन्छाएर सुन्दर सपनाको संसारलाई च्याप्प अँगालो मार्दै ऊ सबैबाट ओझेल भएकी थिई ।

यता आएको केही दिनमै ललिताको सपनाको संसार काँचको फुटेको सिसा जस्तै चकनाचुर भइसकेको थियो । केही दिनमै उसलाई लाग्यो ऊ त केही पैसामा बेचिएर आएकी दासीको स्थितिमा पुगिसकेकी थिई । टाढाको दाइले बुट्टा भरे जस्तो सुन्दर थिएन यताको संसार ! तल्लाघरे काकाको बोली बारम्बार उसको कानमा बज्रिरहेका थिए मानौँ कुनै चलचित्रका पीडाले भरिएका दृश्य उसको सामु छन् र ऊ आफैँ त्यसको पात्रको भूमिकामा जकडिएकी छे । अहिले पुराना कुरा र घटना सम्झँदै गर्दा झन् उसलाई मुटु फुट्ला जस्तै पीडाको अनुभव भइरहेको छ । ऊ हिँड्दा हिँड्दै बर्बरारहेकी थिई ।

“हिजो हातबाट खसेर एउटा ग्लास फुट्दा छडीले हानेर टाउकै फुटाइदिए पापीहरूले ! जानाजान फुटाए जस्तो गरी । कति दुख्दै छ अझै । ऊ सम्झन्छे, जतिबेला पनि गिद्धे दृष्टिले हेथ्र्याे साहुको छोरो भनाउँदोले पनि । अस्ति भर्खर पनि बल्ल बल्ल उसको पञ्जाबाट फुत्किएँ । एक दिन साहुको बच्चा खेलाउँदै गर्दा म निदाएकी थिएँ अस्ति । भकुर्नु भकुरे मलाई । उनीहरू सोच्दैनथे कि म पनि त मान्छे हुँ र मलाई पनि अनिदो बस्दा पछि निद्रा लाग्छ भनेर । के मलाई अल्छी लाग्दैन र ? राम्रोसँग सम्झाए भइहाल्थ्यो नि । मैले कहिले पो अटेर गरेकी थिएँ र उनीहरूलाई । झर्केर मात्र बोल्छन् जतिखेर नि पापीहरू । के गर्नु आफू उनीहरूको भाषा केही बोल्न सक्दिनँ । यिनीहरूको बोली सिकेको भए मनका कुरा त भन्थेँ नि ! मान्छे त हुन् अलिकति त बुझ्थे होलान् । कहिलेकाहीँ त माया पनि देखाए जस्तो गर्छन् । घरको काम सबैतिर उस्तै त होला नि भन्ठानेकी । यसको घरभित्र पस्दा त आकाशबाट सगरै खसे जस्तो भयो नि आम्मामा । जे कुरा पनि मेसिनबाटै खाना पकाउनेदिख लुगा धुनेसम्म । म गाउँबाट आएकी केटीले कसरी चलाउनु त्यो ? कहिल्यै देख्या सुन्या भए पो । चलाउन नजाने कुट्छन, गाली गर्छन् । राम्रोसँग सिकाए पनि त हुन्थ्यो । के के त भन्छन् म बुझ्दिनँ । नबुझ्दा झनै जोडले कुट्छन् । कति पुकारेँ, “हे भगवान् मलाई यिनीहरूको बोली त सिकाइदेऊ । यिनीहरूको चालचलन र व्यवहार सिकाइदेऊ । नत्र म बाँच्न सक्दिनँ भगवान् रातदिनको मानसिक र शारीरिक पीडाको पहाडसँगै मलाई पनि आफ्नो पोल्टामा हालेर लैजाऊ ।”

हिँड्दै गर्दा ललिताको मनमा कुरा खेलिरहन्छन्, “म पापिनीले मेरा भगवान जस्ता काकालाई गाली गरेँ । उनले त मलाई सम्झाएकै थिए नि । मेरै रिस गर्छन् भन्ने सोचेँ मैले । मलाई सधैँ आफ्नै छोरी जस्तै व्यवहार गर्थे । तर म अभगिनीले किन बुझिनँ उनको कुरा ? उनको सुझाव मानेर बोली, भाषा, चाल चलन, कामको प्रकृति बुझेर यहाँ आएको भए यति दुःख त पाइँदिनथेँ होला । गुहु र गोबरको फरक छुट्याउन नसक्दा यस्तो भयो । मेरो पनि के दोष र । म गाउँकी अल्लारे केटी, आफूले कहिल्यै त्यस्तो छलकपट जानेको भए पो । त्यो दाइ भनाउँदोले मीठो कुरा गर्दा मैले उसलाई पत्याएँ । “केही दुःख हुँदैन । केही परे मलाई भन्नू” भनेको थियो । पहिला यता नयाँ हुँदा त मिठा कुरा गथ्र्याे नि फोनबाट पनि । जब मलाई अप्ठ्यारो परेको सुनाएँ, अहिले फोनै उठाउँदैन त्यो राक्षस ।”

 “त्यसको कहिल्यै भलो नहोस् । अहिले पो थाहा पाएँ– उसले त म जस्ता धेरै गाउँका दिदीबहिनीहरूलाई ललाई फकाई विदेश पठाउँछ अरे पैसा कमाउन । पाप पनि लाग्दैन, कलिजुग त हो । जो गर्छ पाप उसकै फलिफाप । कसलाई दोष दिनु मेरो कर्मै यस्तो । दुःख मात्रै लेखेको रहेछ । गरिबलाई त सपना देख्ने अधिकार पनि छैन । जे होस् अब म यहाँ बस्दिनँ । एक बस्दिनँ दुई बस्दिन । मर्छु बरु । यसरी रातदिन मरेर बाँच्नुभन्दा त एकै पल्ट मर्नु जाति ।” अनि फेरि मनको आवाज निस्कन्छ, “होइन किन मर्नु ? मेरो घर छँदैछ । बा आमा छँदैछन् । घरै जान्छु । तर घर जान पो कहाँ सजिलो छ र।  त्यो पापीले नछोडेसम्म । सबै कागजपत्र र पासपोर्ट पनि उसैले राखेको छ । अस्ति भर्खर मात्र तीन जना मेरै साथीहरू भागेर गए भन्ने सुनेकी । हामी जस्ता पीडितहरूलाई घर पठाइदिन्छन् रे– दूतावासले । त्यहीँ जान्छु, रुन्छु कराउँछु । जसरी पनि म घर जान्छु जान्छु । बरु घरमै गएर दुःख गर्छु । बा आमासँगै बस्छु । मास्टर काकासँग माफी माग्छु ।” 

यति सोच्दा सोच्दै भक्कानिएर रुन थाल्छे ललिता । रुँदा पनि कसैले सुन्ला वा देख्ला कि भन्ने डर पनि थियो । रुन पनि लुकेर रुनु पर्ने । तर आज ऊ दृढसङ्कल्पित भएर हिँडेकी छ । आफ्नै सुन्दर सपनाको मलामी बन्दै उही पुराना दुःख कष्ट अँगाल्न भए पनि स्वदेश फर्कने, आफ्नो गाउँ फर्कने, आफ्नो घर फर्कने । भागेरै भए पनि । यति सोचले पनि ऊ आफूलाई अलिकति हलुका अनुभव गर्छे । तर अझै उसको सुँक्सुकाहट रोकिएको छैन, आँसुको भेल थामिएको छैन । मुटुको धड्कन बढिरहेकै छ कहिले फुट्ला झैँ गरी । उसलाई झझल्को लागिरहेको छ, आफ्नो गाउँको, परेलीमा बाबुआमा छन् र भाइको नाचिरहेको अनुहार छ । अनि मनभित्र कहिले घर फर्केर उनीहरूलाई अङ्कमाल गर्दै मन लागेसम्म रोइरहन पाउँला भन्ने व्याकुलता । 

सडकमा गाडी फाटफुट गुडिरहेका छन् । हेडलाइट बल्दा ऊ झसँग हुन्छे कतै मालिकको कालो रङको जिप त आएन भनेर ।“ए ललि ! म्यानहोल् हेरेर हिँड् है । अर्काे मोडमा त दूतावास आइपुग्छ ।”

ललिता झसङ्ग हुन्छे, एक्लै फत्फताउँदै हिँडिरहेकी उसले आफू मीना दिदीसँग पछि लागेर आएकी भन्ने बिर्सिसकेकी रहिछ । मीना दिदीलाई उसले केही दिनअघि मात्र नेपालीहरूको एउटा कार्यव्रmममा भेटेकी थिई । कार्यव्रmममा बस्न मन नलागेर ऊ एकछिन बाहिर निस्किँदा मीना पनि काममा जान निस्केकी थिई । मीनाले उसलाई भीडका अरूभन्दा बेग्लै र कुनै चिन्तामा परेकी झैँ लागेर एक पटक कुरा गर्न खोज्दा पहिले त ललिताले केही बोलिन् । तर विस्तारै मीनालाई आफ्नो नेपालदेखि कुवेतसम्मको यात्रा र त्यसपछिको दुःखद दिनबारे बेलीबिस्तार लाएकी थिई । आजको उनीहरूको दौड केही बेरपछि दूतावासको ढोकामा पुगेर टुङ्गियो । ललिताले लामो सास फेर्दै मीनालाई ग्वाम्लाङ्ग अँगालो हाल्दै उसँग बिदा भई । मीना केही पर उभिएर ललिता र गार्डबिच कुराकानी भइरहेको हेर्दै त्यहाँबाट अल्पिई । अबको यात्रा ललिता आफैँले तय गर्नुपर्ने थियो । 

अल जहारा, कुवेत