• २६ पुस २०८२, शनिबार

भालेश्वर ब्रान्डको मिक्स दालमोठ गुणस्तरहीन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २६ गते ।  खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले महालक्ष्मी उद्योगबाट उत्पादित दुई हजार ५९८ प्याकेट भालेश्वर ब्रान्डको मिक्स दालमोठ नष्ट गरेको छ । काठमाडौँको चन्द्रगिरिमा रहेको उक्त उद्योगमा उत्पादित दालमोठको नमुना परीक्षण गर्दा गुणस्तरहीन भएको प्रमाणित भएपछि पाँच लाख १९ हजार छ सय रुपियाँ बराबरको दुई हजार ५९८ प्याकेट दालमोठ विभागको टोलीले नष्ट गरेको हो ।

विभागका अनुसार सो उद्योगबाट उत्पादित दालमोठ न्यून गुणस्तरमा भएको भन्ने उजुरीका आधारमा विभागको टोलीले उद्योगबाट दालमोठको नमुना परीक्षण गरेको थियो । विभागका सूचना अधिकारी डा. बालकुमारी शर्माले सो उद्योगमा उत्पादित दालमोठको गुणस्तरमा शङ्का लागेपछि नमुना परीक्षणको प्रतिवेदन नआउँदासम्म बिक्रीवितरणमा रोक लगाएको जानकारी दिनुभयो । 

परीक्षणमा उक्त उद्योगमा उत्पादित दालमोठ गुणस्तरहीन भएको प्रमाणित भएपछि दालमोठ नष्ट गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले बजारमा पठाइएको सन् २०२५ नेभेम्बरमा उत्पादित ०३ ब्याच नम्बर उल्लेख भएको दालमोठ फिर्ता ल्याउन पनि उद्योगलाई निर्देशन दिइएको छ ।