• १८ चैत २०८२, बुधबार

गजेन्द्र नारायण सिंह अस्पतालको वर्षौ बन्द गेट खोलियो

blog

अस्पतालको गेट खोल्दै । तस्बिरः सुधा देव

सुधा देव
भारदह, चैत १८ गते।
सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ।

अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता खेलानन्द दासले बताउनुभयो।

उहाँका अनुसार, अस्पतालको दक्षिणतर्फको एउटामात्र गेट खुला हुँदा उत्तर र पश्चिमबाट आउने बिरामी र आफन्तलाई असुविधा भइरहेको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, स्थानीय प्रशासन र चिकित्सकहरूको संयुक्त पहलपछि गेट खोल्न सम्भव भएको हो।

गेट खुलाएपछि बिरामी र उनका आफन्तको आवतजावत सहज भएको छ। वर्षौंदेखि नखुलेको गेटको अवस्था जीर्ण भइसकेको थियो भने वरिपरि अनावश्यक सामाग्री, रूख र झाडीले ढाकिएको थियो। सबैको पहल र सहयोगले गेट सञ्चालनमा ल्याउन सफल भएको अस्पतालका मेसु डा. अबधेश मिश्रले जानकारी दिनुभयो।