• १८ चैत २०८२, बुधबार

जुम्लामा सुख्खा पहिरोः तीन घरमा क्षति

blog

सुख्खा पहिरोबाट क्षति भएको घर। तस्बिरः नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), चैत १८ गते।
जुम्लाको हिमा गाउँपालिका–६, खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो जाँदा तीनवटा घरमा क्षति पुगेको छ। मङ्गलबार दिउँसो गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एक पूर्ण रूपमा नष्ट र अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ। पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।

घटनाबाट करिब २० लाख रुपियाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्। दिउँसोको समयमा पहिरो गएका कारण मानवीय क्षति भने नभएको बताइएको छ।

स्थानीयका अनुसार, उक्त क्षेत्रमा ढुङ्गा खस्ने जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि स्थानीय सरकारलाई निवेदन दिएका थिए। जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिएका भए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ। हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।

स्थानीयवासीका अनुसार, खल्ढुङ्गा गाउँ लामो समयदेखि कमजोर चट्टान र भीरको जोखिममा रहेको छ। यसअघि २०७९ असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छ वटा घर पहिरोले बगाएको थियो। तर, त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको गुनासो छ।

वर्षायाम नजिकिँदै गर्दा थप जोखिम बढ्ने चिन्ताबिच स्थानीयले सरोकारवाला निकायसँग तत्काल उद्धार, राहत तथा दीर्घकालीन समाधानको माग गरेका छन्।